भारत भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन शाह

IMG-20261119-WA0074

वर्षौँ पुरानो ‘गार्ड अफ अनर’ को परम्परा तोड्दै

​काठमाडौँ: प्रधानमन्त्री बालेन शाह आगामी आइतबार (मंसिर ६ गते/२२ नोभेम्बर) आफ्नो पहिलो औपचारिक द्विपक्षीय भ्रमणका लागि भारत प्रस्थान गर्दैछन्। गत चैत (मार्च) मा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो द्विपक्षीय भ्रमणका लागि नयाँदिल्ली रोजेका शाहले विदेश भ्रमणमा निस्कनुअघि विमानस्थलमा दिइने ‘गार्ड अफ अनर’ र औपचारिक बिदाइ समारोहको वर्षौँ पुरानो परम्परालाई भने नअँगाल्ने भएका छन्।
​प्रधानमन्त्री शाहले दिल्ली प्रस्थान गर्नुअघि विमानस्थलमा आयोजित हुने औपचारिक बिदाइ समारोह र सलामी (गार्ड अफ अनर) ग्रहण नगर्ने संकेत दिएका छन्। यसअघि गत भदौ (सेप्टेम्बर) मा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क जाँदा पनि उनले यस्तै प्रोटोकल तोडेका थिए। सादगीपूर्ण रूपमा भारत भ्रमणमा निस्कन लागेका शाहको उक्त कदमको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।
​बिहीबार साँझसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै औपचारिक बिदाइ कार्यक्रम राख्ने निर्णय नभएको अधिकारीहरूले जनाएका छन्। हालको योजनाअनुसार प्रधानमन्त्री शाहको सवारी लस्कर सिधै विमानस्थलको धावनमार्ग (टारम्याक) नजिक नेपाल एयरलाइन्सको विमान रोकिराखिएको स्थानसम्म पुग्नेछ भने भ्रमण टोलीका अन्य सदस्यहरू सामान्य मार्ग हुँदै विमानमा चढ्नेछन्।
​नेपालमा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा विमानस्थलको अतिविशिष्ट कक्षमा मन्त्री, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, विदेशी कूटनीतिज्ञ तथा राजनीतिक दलका नेताहरूको उपस्थितिमा औपचारिक बिदाइ गर्ने प्रचलन रहिआएको छ। यस विषयमा प्रधानमन्त्री निकट वृत्तमा भने फरक–फरक मत देखिएको छ। एक वरिष्ठ सुरक्षा अधिकारीका अनुसार कतिपयले राजकीय भ्रमणमा स्थापित परम्पराको सम्मान हुनुपर्ने तर्क गरेका छन् भने धेरैले न्युयोर्क भ्रमणका बेला बिदाइ समारोह नराख्दा युवापुस्ताले समर्थन गरेकाले अहिले पनि औपचारिकता आवश्यक नरहेको धारणा राखेका छन्।
​प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका सल्लाहकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, व्यापारिक प्रतिनिधि, सञ्चारकर्मी तथा सुरक्षा टोली सहभागी हुनेछन्।
​प्रधानमन्त्री बनेदेखि नै कूटनीतिक भेटघाटमा स्थापित परम्परागत प्रोटोकलभन्दा फरक शैली अपनाउँदै आएका शाहले पहिलो विदेश भ्रमणका लागि भारत रोजेर पुरानै कूटनीतिक निरन्तरतालाई भने कायम राखेका छन्। दुईदिने यो भ्रमण निकै संक्षिप्त रहनेछ। २४ घण्टाभन्दा केही बढी समय दिल्लीमा रहँदा उनले महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नेछन् र सोमबार (२३ नोभेम्बर) स्वदेश फर्कने कार्यक्रम छ। विगतका प्रधानमन्त्रीहरू भारत भ्रमणका क्रममा दिल्लीबाहेक अन्य सहरमा समेत जाने गरे पनि शाहको भ्रमण नयाँदिल्लीमा मात्र सीमित रहनेछ।

About Author

Advertisement