नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय उद्योग जगतलाई ‘स्वदेशी’ र ‘आत्मनिर्भरता’ को महत्त्व स्मरण गराउँदै कडा सन्देश दिनुभएको छ। फिक्कीको शताब्दी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले महात्मा गान्धीले सन् १९३० मा दिनुभएको स्वदेशीको सन्देश उद्धृत गर्दै झण्डै एक सय वर्षपछि पनि उद्योगपतिहरूलाई उही कुरा दोहोर्याउनुपरेकोमा गम्भीर प्रश्न उठाउनुभयो।
प्रधानमन्त्री मोदीले स्पष्ट शब्दमा भन्नुभयो, “मेरो कुरा नमान्नुहोस्, तर गान्धीको त मान्नुहोस्।” उहाँले उद्योग जगतलाई स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न र ‘आत्मनिर्भर भारत’ को सङ्कल्पलाई घर-घरमा पुर्याउन आह्वान गर्नुभयो।
’१०० वर्षपछि पनि अवस्था उस्तै…’
सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले फिक्कीको वृत्तचित्र हेरेपछि उद्योग जगतले आफ्नो शिर गर्वले ठाडो पार्ने कि निहुराउने भन्ने आफैँ तय गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “सोच्नुहोस्, १०० वर्ष बितिसक्यो, सन् १९३० मा गान्धीजीले यहाँ आएर यही कुरा भन्नुभएको थियो। यति वर्षपछि पनि मैले उही कुरा दोहोर्याउनुपरिरहेको छ। यो तपाईंहरूको सफलता हो कि विफलता?”
’१४० करोड जनतालाई पक्का बजार नठान्नुहोस्’
घरेलु बजारका सन्दर्भमा उद्योगपतिहरूलाई सचेत गराउँदै प्रधानमन्त्री मोदीले १४० करोड देशवासीलाई जस्तोसुकै सामान बिक्ने ‘पक्का बजार’ का रूपमा मात्र नलिन आग्रह गर्नुभयो। भारतीय कम्पनीहरूले आफ्ना उत्पादनको गुणस्तर सुधार्नुपर्नेमा जोड दिँदै उहाँले भारतमा बन्ने सामानको स्तर अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार हुनुपर्ने बताउनुभयो, जसले गर्दा विश्व बजारमा भारतले आफ्नो छुट्टै पहिचान बनाउन सकोस्।
आगामी २० वर्षको लगानीमा ‘इन्डिया फर्स्ट’ को मन्त्र
प्रधानमन्त्री मोदीले उद्योग जगतलाई आगामी २० वर्षको लगानीसम्बन्धी निर्णयहरूमा ‘इन्डिया फर्स्ट’ (भारत पहिले) लाई प्राथमिकता दिन अपिल गर्नुभयो। कम्पनीहरू केवल घरेलु बजारमा मात्र निर्भर नरही विश्वव्यापी ग्राहकको आवश्यकता बुझ्न, उच्च गुणस्तर कायम गर्न र बलियो वितरण सञ्जाल (डिस्ट्रिब्युसन नेटवर्क) निर्माणमा लगानी गर्नुपर्ने उहाँको भनाइ थियो। ‘विकसित भारत’ केवल नारा मात्र नभई देशको साझा सङ्कल्प भएको उल्लेख गर्दै उहाँले यस यात्रामा उद्योग जगतको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो।





