सिलगढी: सिलगढी इन्स्टिच्युट अफ टेक्नोलोजी (एसआइटी) को आयोजनामा बिहीबार ‘अन्तर्राष्ट्रिय डेटा साइन्स तथा सञ्चार सम्मेलन’ (आइसिटिडिएससी २०२६) सम्पन्न भएको छ।
पश्चिम बङ्गाल सरकारका पर्यटन तथा संसदीय कार्य मन्त्री डा. शङ्कर घोषको प्रमुख आतिथ्यतामा उक्त सम्मेलन आयोजना गरिएको हो। सूचना प्रविधि, डेटा साइन्स र आधुनिक सञ्चार प्रणालीको बढ्दो महत्त्वलाई मध्यनजर गर्दै आयोजना गरिएको यस सम्मेलनमा स्वदेश तथा विदेशका शिक्षाविद्, अनुसन्धानकर्ता, प्रविधिविद् र विशेषज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. घोषले ज्ञानको आदानप्रदान, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्न यस्ता मञ्चहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रविधि र नवप्रवर्तनसँग हातेमालो गर्दै आगामी दिनमा प्रगतिशील, आधुनिक र आत्मनिर्भर भारत निर्माण गर्ने लक्ष्यका साथ गरिएको यो पहल अत्यन्तै सराहनीय रहेको उहाँले उल्लेख गर्नुभयो।
सम्मेलनमा सहभागी विशेषज्ञहरूले डेटा साइन्स र आधुनिक सञ्चार प्रविधिका नवीनतम आयाम तथा चुनौतीहरूका बारेमा आ-आफ्नो कार्यपत्र र विचार प्रस्तुत गरेका थिए।





