खरसाङ : दार्जिलिङ पुलिसको आयोजनामा भईरहेको टी ईस्टा फेस्ट अन्तर्गत खरसाङमा ‘डी-हाइक’ को आयोजना हुने भएको छ। यस विषयमा बिहीबार प्रेस क्लब अफ् खरसाङको कार्यालयमा “लोकल ट्रेकर्स”द्वारा पत्रकार सम्मेलन आयोजना गरिएको छ। उक्त पत्रकार सम्मेलनमा दार्जिलिङ पुलिसद्वारा भईरहेको “टी इस्टा फेस्ट” अन्तर्गत खरसाङमा हुन गईरहेको “डी-हाइक” २९ नोभेम्बर २०२६ को दिन हुने भएको छ। लोकल ट्रेकर्सको पक्षबाट संस्थापक नर्बु छिरिङ शेर्पा,सदस्य विजय राई,मौसम नेवार अनि आकाश प्रधानको उपस्थिति रहेको थियो।यस ट्रेकको उदेश्य पहाडलाई नशामुक्त बनाउने अभियानमा युवाहरूलाई जोड्नुका साथै खरसाङको प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने भनि बताएका छन्। लोकल ट्रेकर्स समूहले आगामी २९ नोभेम्बरमा खरसाङमा ‘हेरिटेज एन्ड टी गार्डेन ट्रेल’ अर्थात् डी-हाइक ट्रेक पूर्ण रूपमा निःशुल्क रहने आयोजक पक्षले जनाएका छन्। बिहान ७ बजे खरसाङ रेलवे स्टेसनबाट सुरु हुने ट्रेक नयाँ बजार, न्यु रोड र थाना हुँदै ऐतिहासिक क्यासेलटन टी फ्याक्ट्री पुग्नेछ। त्यहाँ सहभागीहरूलाई चिया कारखानाको इतिहास र महत्त्वबारे जानकारी गराइनेछ। त्यसपछि स्प्रिङ साइड हुँदै चियाबारीको मनोरम दृश्य अवलोकन गर्दै लभ रोडमा ट्रेकको समापन गरिनेछ। लगभग ६ किलोमिटर लामो यस यात्रामा सहभागीहरूका लागि चिया तथा खाजाको व्यवस्था साथै प्रमाण पत्र प्रदान गरिने छ।आयोजकहरूले विशेषगरी युवावर्गसहित सम्पूर्ण खरसाङवासी तथा बाहिरबाट आउने पर्यटकहरूलाई कार्यक्रममा सहभागी बन्न आह्वान गरेका छन्।स्थानीय सम्पदा चिनाउने, संरक्षण गर्ने र युवाहरूलाई सकारात्मक गतिविधिमा प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको पक्षबाट संस्थापक नर्बु छिरिङ शेर्पाले पत्रकारहरूसँग कुराकानी गर्दै जानकारी गराएका छन्।





