गान्तोक: आज मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग मिन्तोकगाङस्थित उनको सरकारी आवासमा जर्मन संघीय संसदको पर्यावरण, प्रकृति संरक्षण, परमाणु सुरक्षा र उपभोक्ता सुरक्षा समितिका सदस्यहरूले भेट गरे। जर्मन टोलीको अगुवाई हेराल्ड एबनरले गरेको थियो। मुख्यमन्त्रीले जर्मन टोलीलाई सरकारका पहलहरूमाथि प्रकाश पारे। उनले कृषि उत्पादन बढ़ाउन तथा राज्यवासीहरूको आजीविका बढ़ाउन राज्य सरकारले शुरू गरेका प्रोत्साहन योजनाबारे जानकारी गराए। उनले जैविक खेतीको महत्व अनि फाइदाबारे बोल्दै देशका धेरै राज्यहरूले जैविक खेती शुरू गरिसकेको छ भनी बताए। उनले राज्यमा सिङ्गल यूज प्लास्टिक र प्लास्टिक बोतलहरूको प्रयोग प्रतिबन्धित रहेको अवगत गराए।
यस अतिरिक्त मुख्यमन्त्री तामाङले प्राकृतिक प्रकोपका पीडितहरूको पुनर्वास, सिक्किम गरीब आवास योजना, सिक्किम शहरी आवास योजनाबारे पनि जर्मन टोलीलाई जानकारी गराए। मुख्यमन्त्रीले भ्रमण टोलीलाई धन्यवाद दिॅदै पर्यावरण, पारिस्थितिकी तन्त्र संरक्षण र आपदा प्रबन्धन जस्ता विषयहरूमा सहकार्यको इच्छा व्यक्त गरे। उनले भ्रमण टोलीका सदस्यहरूको कतिपय जिज्ञासाहरूलाई पनि सम्बोधन गरेका थिए।
हेराल्ड एबनरले पर्यावरण संरक्षण र सुरक्षाको क्षेत्रमा सिक्किमले गरिरहेका कार्यहरूको सराहना गरे। उनले मुख्यमन्त्रीलाई रिटर्न एण्ड डिपोजिट सिस्टमबारे जानकारी गराउॅंदै यो सिस्टम जर्मनीमा सफल बनेको बताए। यस सिस्टमको माध्यमद्वारा फोहोर उत्पादन कम गर्न सकिने उनले बताए।









