‘जीटीए–६’ को सन्दर्भ जोड्दै मोदीको ‘एक्स’ पोस्ट: ‘भारतले बिल्कुलै नयाँ खेल खेलिरहेको छ’

IMG_52834b79-7f6b-4952-8809-23972844c3f1

​नयाँदिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चर्चित भिडियो गेम ‘ग्र्यान्ड थेफ्ट अटो’ (जीटीए–६) को सन्दर्भ जोड्दै सामाजिक सञ्जाल ‘एक्स’ मार्फत भारतका विभिन्न क्षेत्रका उपलब्धि सार्वजनिक गर्नुभएको छ। उहाँले ‘जीटीए–५’ सार्वजनिक भएको सन् २०१३ र ‘जीटीए–६’ आएको सन् २०२६ बीचको अवधिमा मुलुकमा भएका रूपान्तरण र प्रगतिलाई स्लाइडहरूमार्फत प्रस्तुत गर्नुभएको हो।
​प्रधानमन्त्री मोदीले ‘एक्स’ मा साझा गर्नुभएको पोस्टमा लेख्नुभएको छ, ‘भारत अब बिल्कुलै नयाँ स्तरमा खेल खेलिरहेको छ।’
​उहाँले सार्वजनिक गर्नुभएका स्लाइडहरूमा आर्थिक रूपान्तरणदेखि आन्तरिक सुरक्षासम्मका सूचक समेटिएका छन् । पहिलो स्लाइडमा कुनै बेला विश्वका कमजोर अर्थतन्त्र (‘फ्र्याजाइल फाइभ’) मा गनिने भारत अहिले विश्वकै सबैभन्दा तीव्र गतिमा बढिरहेको प्रमुख अर्थतन्त्र बनेको उल्लेख गरिएको छ। दोस्रो स्लाइडमा अत्यधिक गरिबी २७ प्रतिशतले घटेको देखाइएको छ भने तेस्रो स्लाइडमा ‘स्वच्छ भारत मिसन’ अन्तर्गत सरसफाइको पहुँच ३९ प्रतिशतबाट बढेर १०० प्रतिशत पुगेको जनाइएको छ।
​सौर्य ऊर्जा क्षमता २.८२ गिगावाटबाट बढेर १७५ गिगावाट पुगेको तथ्याङ्क प्रस्तुत गरिएको छ। त्यस्तै, विद्युत् पहुँचको दायरा २० प्रतिशतबाट बढेर ९९.६ प्रतिशत पुगेको देखाइएको छ। भारतको अन्तरिक्ष स्टार्टअप इकोसिस्टम १ स्टार्टअपबाट विस्तार भई ४४० पुगेको उल्लेख छ। डिजिटल सेवातर्फ इन्टरनेटको शुल्क प्रतिजिबी ३०८ भारुबाट घटेर ७.५१ भारुमा झरेको बताइएको छ। साथै, पहिले रक्षा उपकरणको ठूलो आयातकर्ता रहेको भारतले अहिले ८० भन्दा बढी देशमा रक्षा उपकरण निर्यात गरिरहेको जनाइएको छ। अन्तिम स्लाइडमा नक्सल प्रभावित जिल्लाको सङ्ख्या १८२ बाट घटेर शून्यमा पुगेको उल्लेख गरिएको छ।
​‘रकस्टार गेम्स’ ले विकास गरेको भिडियो गेम ‘जीटीए-६’ लाई लिएर विश्वभरका गेम पारखीहरूमा उत्साह देखिएकै बेला प्रधानमन्त्री मोदीले त्यसको शैली र समयरेखालाई विकासका सूचकसँग जोडेर प्रस्तुत गर्नुभएको हो ।

About Author

Advertisement