दक्षिण कोरियामा ‘भूत भगाउने’ पर्वमा १५४ जनाको ज्यान गयो

00-Seoul-South-Korea

भूत भगाउने मान्यताका साथ मनाइने पर्व हलोविनका क्रममा शनिबार राति दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिदा ज्यान गुमाउनेको सङ्ख्या १५४ पुगेको छ भने १४९ जना घाइते भएका छन्। घाइतेमध्ये ३३ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने सुरक्षा अधिकारीहरूले बताएका छन्। गृह मन्त्रालयका अनुसार उक्त घटनामा २६ जना विदेशीको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। दक्षिण कोरियाली सरकारले शनिबारसम्म साताव्यापी राष्ट्रिय शोक घोषणा गरेको छ। राष्ट्रपति युन सुक येओले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

यसैबीच, दक्षिण कोरियाली पुलिसले उक्त घटनाको अनुसन्धान थालेको छ। पुलिसको १६१ सदस्यीय कार्यदल बनाएर अनुसन्धान थालिएको गृह मन्त्रालयले एक विज्ञप्ति निकालेर जनाएको छ। विशेषज्ञसहितको पुलिस टोलीले भागदौड मच्चिएको स्थानमा जडित क्यामराले खिचेका दृश्य र सामाजिक सञ्जलामा सम्प्रेषण गरिएका भिडियोलाई विश्लेषण गरेर घटनाको छानबिन प्रारम्भ गरेको हो। भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक व्यवस्थासहितको प्रणाली विकास गरिने प्रधानमन्त्री हान डकसुकले बताएका छन्।

About Author

Advertisement