खरसाङ: खरसाङ क्षेत्रका एक कवि उमेद गोले द्वारा लिखित कविता सङ्ग्रह ‘चियाबारीको चिसो घाम’ लोकार्पण गरिएको छ। खरसाङ महकुमा अन्तर्गत चिम्नीस्थित एक निजी होम स्टेमा उनको उक्त कविता सङ्ग्रहको लोकार्पण गरिएको छ। साहित्यकार ऋषि राईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा कवि कमल भण्डारीको विशेष उपस्थिति रहेको थियो भने अन्य विशिष्ट अतिथिहरुमा जीवन भण्डारी, कवि शम्भु कुमार राई, कवि उदय दुमी साथै अन्यान्यहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन गजलकार दिपक ठटाल ‘जलन’ले गरेका थिए। कार्यक्रममा कवि उमेद गोलेको कवि परिचय अरुण लामाले राखेका थिए। सर्वप्रथम अध्यक्ष, प्रमुख अतिथि एवं विशिष्ट अतिथिहरुलाई कवि उमेद गोलेले खादा लगाएर स्वागत जनाए भने अध्यक्ष एवं प्रमुख अतिथिको बाहुलीबाट माता सरस्वतीको तस्विर अघि धूप द्विप प्रज्ववलन गरेर कार्यक्रम थालिएको थियो। कार्यक्रममा कवि शम्भुकुमार राई, कवि उदय दुमी आदिले कविता वाचन गरे भने गजलकार दिपक ठटाल ‘जलन’ले गजलहरु पनि वाचन गरेका थिए। कविता सङ्ग्रह ‘चियाबारीको चिसो घाम’ को औपचारिक लोकार्पण सबै उपस्थित अतिथिहरुको बाहुलीबाट गरियो भने कमल भण्डारीले उक्त कविता सङ्ग्रहको विमोचन भएको घोषणा गरेका थिए। यस अवसरमा कवि उमेद गोलेले पनि कविता वाचन गरेका थिए। उक्त लोकार्पण कार्यक्रममा प्रमुख अतिथि कमल भण्डारी र सभाध्यक्ष ऋषि राईले पनि आ आफ्नो सम्बोधन राखेका थिए। उल्लेखनीय छ, खरसाङका कवि उमेद गोलेले लामो समयदेखि कविता लेखन र साहित्यको सेवा गर्दै आएका छन्। उनको पहिलो कृति मुक्तक संग्रको रुपमा ‘छोएर केही उच्छवास’ १९९० सालमा नै प्रकाशित छन् भने उनले खरसाङ क्षेत्रका विभिन्न साहित्यिक संघ संस्थाहरुमा संलग्न रहेर निरन्तर साहित्य लेखन साथै साहित्यको सेवा गर्दै आईरहेका छन्। उनको अर्को कविता सङ्ग्रह ‘भूइँ र आकाश’ पनि प्रकाशोन्मुख रहेका छन्। उनले ‘आँगन’ समसामयिक पत्रिका पनि सम्पादन गरिसकेका छन्। पेशाले शिक्षक रहेर अवकाशप्राप्त कवि उमेद गोलेले आफु खरसाङ बजारमा स्थायी रुपमा बसे पनि आफ्नो जन्मथलो र गाउँ लङ्भ्यू चियाबारीलाई सम्झेर अनि चियाबारीको कथा -व्यथालाई सम्झेर चियाबारी श्रमिकहरुको समस्यालाई लिएर चियाबारीलाई लिएर कविताहरु लेखेका छन्। यस कविता सङ्ग्रहलाई चियाबारी साहित्यको एक उत्तम उदाहरण मान्न सकिन्छ।





