कंग्रेस पार्टीको सांठनिक ढाँचा बलियो बनाउनुपर्छ: प्रकाश जोशी
खरसाङ: नगरपालिका चुनावलाई ध्यानमा राख्दै पार्टीको सांगठनिक गतिविधि तीब्र पार्दै खरसाङमा अल ईण्डिया कंग्रेस कमिटीको सभा सम्पन्न भएको छ। खरसाङको गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न उक्त सभामा मुख्य रूपमा कंग्रेस पार्टीको राष्ट्रिय महासचिव एवं बंगालको इन्चार्ज प्रकाश जोशी, राज्य प्रदेश अध्यक्ष शुभंकर सरकार, राज्य कमिटीको उप सभापति डा मुनिष तामाङ लगायत राज्य कमिटी, दार्जिलिङ जिल्ला र कालेबुङ जिल्ला कमिटीका पदाधिकारीहरु साथै खरसाङ ब्लकमा पदाधिकारीहरु उपस्थित रहेका थिए। उक्त सांगठनिक सभालाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै कंग्रेस पार्टीको राष्ट्रिय महासचिव एवं बंगालको इन्चार्ज प्रकाश जोशीले बंगालमा कांग्रेस पार्टी विगत ४९ वर्षदेखि सत्तामा नरहेको र विगत २२ वर्षदेखि बंगालमा एकल चुनाव लडेको छैन। तर पनि कंग्रेस पार्टी बाँचेको छ र हालमा कंग्रेस पार्टीमा मानिसहरु आफै आएर सामेल भईरहेका छन् भनी बताएका छन्। उनले बंगालको हरेक ब्लकमा कंग्रेस पार्टी जिउँदो रहेको बताउँदै पार्टीलाई अझ शक्तिशाली रुपमा काम गरेर लगे अनि सांगठनिक रुपमा सक्रिय पारेर लगे कंग्रेस पार्टी सत्तामा आउन सक्छ भनी बताए। उनले पार्टी कार्यकर्ताहरुलाई सम्बन्धोन गर्दै भने, पार्टीको संगठन छाता जस्तै हो र यसलाई बलियो बनाएर लानुपर्छ। संगठनको नीभ मजबूत हुनुपर्छ। संगठनको ढाँचा बलियो हुनुपर्छ। पार्टीको संगठन तल्लो स्तरबाट नै बलियो बनाएर लानुपर्छ।’ सभामा राष्ट्रिय महासचिव एवं बंगालको प्रभारी प्रकाश जोशीले पार्टी कार्यकर्ताहरुसित परिचय आदान प्रदान गर्नुको साथै विमर्श पनि गरेका थिए।
सभामा कंग्रेस कमिटीको बंगाल प्रदेश अध्यक्ष शुभंकर सरकारले आफ्नो सम्बोधनमा हालमा बंगालमा मानिसहरु आफै कंग्रेस पार्टीमा आईरहेको बताउँदै भाजपाले चुनाउ आयोगसित मिलेर भोट चोरी गरेको आरोप लगाए। उनले मतदाता सूचीमा पहाडका मतदाताहरुको पनि नाम काटिएको छ र यसको लागि र चुनावको लागि हामी सबैजना तयार रहनुपर्छ साथै अबको चुनावमा कांग्रेस पार्टीले हरेक ब्लकमा भोट रक्षकको रुपमा नियुक्त गर्नेछ र भोट चोरी गर्न दिने छैन भनी बताएका छन्। उनले अबको समयमा कंग्रेस पार्टीमा हरेक ब्लकमा चुनाव लड्न सक्ने कार्यकर्ता हुन आवश्यक छ भनी बताएका छन्।

सभालाई दार्जिलिङ जिल्ला अध्यक्ष सुमिन भौमिकले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण कंग्रेस कमिटी खरसाङ ब्लकको सभापति उदय पोर्तेलले राखेका थिए। सभामा दार्जिलिङ जिल्ला कमिटीको कार्यकारी अध्यक्ष सरोज खत्री लगायत जिल्ला पदाधिकारीहरु, नारी प्रकोष्ठ साथै कालेबुङ जिल्ला र खरसाङ ब्लक कमिटीको पदाधिकारीहरु र अन्यहरु उपस्थित रहेका थिए।





