मगध सुगर एन्ड इनर्जी लिमिटेडको खुद मुनाफामा सुधार

39f56a24-0500-4aa6-b0f7-ae9ad794eb8d

दोस्रो त्रैमासिक तथा पहिलो छमाही विवरण सार्वजनिक

​कोलकाता: मगध सुगर एन्ड इनर्जी लिमिटेडले आफ्नो आर्थिक वर्ष २०२७ को दोस्रो त्रैमासिक तथा पहिलो छमाहीको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको सञ्चालक समितिको २०८३ साल कात्तिक २१ गते बसेको बैठकले ३० सेप्टेम्बर २०२६ मा समाप्त भएको अवधिको वित्तीय नतिजालाई रेकर्डमा लिएको हो।
​सार्वजनिक विवरण अनुसार दोस्रो त्रैमासिक मा कम्पनीको कुल आम्दानी दुई सय ९० करोड रुपैयाँ रहेको छ भने गत वर्षको यसै अवधिमा कुल आम्दानी तीन सय २५ करोड रुपैयाँ थियो। यस अवधिमा कम्पनीको सञ्चालन मुनाफा १५ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको यसै अवधिमा दुई करोड रुपैयाँ मात्रै थियो। त्यस्तै, गत वर्षको यसै अवधिमा १० करोड रुपैयाँ घाटामा रहेको कम्पनीको खुद मुनाफा यस पटक भने सुधार हुँदै एक करोड रुपैयाँ धनात्मक बनेको छ।
​यसैगरी, आर्थिक वर्ष २०२७ को पहिलो छमाही मा कम्पनीको कुल आम्दानी छ सय दुई करोड रुपैयाँ कायम भएको छ, जुन गत वर्षको सोही अवधिमा छ सय ५९ करोड रुपैयाँ थियो। पहिलो छमाहीमा कम्पनीको सञ्चालन मुनाफा १७ करोड रुपैयाँ रहेको छ भने गत वर्ष यो २२ करोड रुपैयाँ थियो। समीक्षा अवधिमा कम्पनीको खुद मुनाफा ११ करोड रुपैयाँ ऋणात्मक (घाटा) रहेको छ, जुन गत वर्षको पहिलो छमाहीमा पनि १० करोड रुपैयाँ घाटा नै थियो।
​वित्तीय नतिजा सार्वजनिक भएपछि आफ्नो धारणा राख्दै मगध सुगर एन्ड इनर्जी लिमिटेडका अध्यक्ष श्री सी.एस. नोपनीले बिहारको चिनी उद्योगले नयाँ नीतिगत सहयोग प्राप्त गरिरहेको बताएका छन्। उनले उखु उद्योग लगानी प्रवर्द्धन नीति २०२६ को मुख्य उद्देश्य नयाँ लगानी आकर्षित गर्नु, बन्द रहेका मिलहरूलाई पुनः सञ्चालनमा ल्याउनु तथा एकीकृत चिनी, इथेनॉल र सह-उत्पादन पूर्वाधारलाई आधुनिकीकरण गर्नु रहेको उल्लेख गरे।
​एक दशककै न्यून मौज्दात, कम उत्पादनको सम्भावना र घरेलु चिनीको बलियो मूल्यका कारण समग्र चिनी उद्योगको दृष्टिकोण सकारात्मक बनेको बताउँदै उनले आफूहरू सञ्चालन दक्षता, उखुको विकास र एकीकृत सम्पत्तिहरूको उच्चतम सदुपयोगमा केन्द्रित रहेको प्रस्ट पारे। समझदारीपूर्ण पूँजी परिचालन र अनुशासनयुक्त कार्यान्वयनमार्फत व्यावसायिक सहनशीलता बलियो बनाउँदै सबै शेयरधनीहरूका लागि दिगो दीर्घकालीन मूल्य सिर्जना गर्ने आफ्नो मुख्य ध्येय रहेको उनको भनाइ छ।
​१९ मार्च २०१५ मा स्थापित यस कम्पनीका अन्तर्गत बिहारको पश्चिम चंपारणमा रहेको न्यु स्वदेशी सुगर मिल्स (नरकटियागंज), सिधवलियामा रहेको भारत सुगर मिल्स र समस्तीपुरमा रहेको हसनपुर सुगर मिल्स गरी तीनवटा चिनी मिलहरू सञ्चालनमा छन्। यी मिलहरूको कुल क्रसिङ क्षमता प्रतिदिन २१ हजार पाँच सय टन रहेको छ। यसका साथै, कम्पनीसँग नरकटियागंज र सिधवलियामा गरी कुल १५५ किलोलिटर प्रति दिन क्षमताका दुईवटा इथेनॉल डिस्टिलरी र ३८ मेगावाट क्षमताको सह-उत्पादन (को-जेन) सुविधा समेत उपलब्ध रहेको विवरणमा उल्लेख छ।

About Author

Advertisement