सांसद राजु विष्टको प्रमुख आतिथ्यतामा सांस्कृतिक एकताको प्रदर्शन
सिलगढ़ी। सिलगढ़ीमा आयोजित तीन दिवसीय एमपी देउसी भैलो महोत्सव-२०२६ भव्य रूपले सम्पन्न भएको छ। यस ऐतिहासिक महोत्सवको समापनसँगै दार्जिलिङका लोकप्रिय सांसद राजु विष्टले पर्वलाई अपार माया, समर्थन र प्रोत्साहन दिँदै सहभागिता जनाउने सम्पूर्णप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। सांसद विष्टको विशेष उपस्थिति र पहलमा आयोजित यस महोत्सवले गोर्खा समुदायको कला, संस्कृति र आपसी एकतालाई एकै सूत्रमा बाँध्ने अनौठो संगम प्रस्तुत गरेको छ। महोत्सवको सफलतापछि आफ्नो मन्तव्य राख्दै सांसद विष्टले उपस्थित सबैको उत्साह र न्यानो मायाले यस आयोजनलाई साझा विरासत, चिनारी र एकताको एउटा यादगार उत्सवमा परिणत गरेको बताए।

महोत्सवमा दार्जिलिङ, तराई, डुवर्स, कालेबुङ, खरसाङ, मिरिक, जलपाईगुड़ी, सिक्किम, असम र बोडोल्याण्डका १६ वटा उत्कृष्ट सांस्कृतिक समूहहरूले उत्साहजनक सहभागिता जनाएका थिए। सबै समूहले गोर्खा लोक परम्परा, संगीत, गीत, नृत्य र सांस्कृतिक अभिव्यक्तिको समृद्धि झल्काउने अत्यन्तै मनमोहक प्रदर्शनहरू प्रस्तुत गरेका थिए। कडा प्रतिस्पर्धाबीच सम्पन्न प्रतियोगितात्मक प्रस्तुतिहरूमा अमाकला ग्रुप, असमले प्रथम स्थान हासिल गर्न सफल भयो भने मिलन मोड़ देउसी भैलो समूह, सिलगढ़ीले द्वितीय र जलपा समूह, कालेबुङले तृतीय स्थान प्राप्त गर्यो। यसैगरी, जलपाईगुड़ीको सुनाखरी सङ्घ, असमको गोर्खा सङ्घ समूह, तथा बोड़ोल्याण्डको प्रतिनिधित्व गरेको असमको निलाक्षी समूहलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।
महोत्सवको शोभा बढाउन सिक्किमका मुख्यमन्त्री पी.एस. तामाङ (गोले), पश्चिम बङ्गाल र सिक्किमका मन्त्रीगण, क्षेत्रभरका सांसद तथा विधायकगण लगायत थुप्रै गण्यमान्य व्यक्ति तथा अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो। उहाँहरूको उपस्थिति र ऐक्यबद्धताले यस क्षेत्रको सांस्कृतिक महत्वलाई थप उचाइमा पुर्याएको छ। यस अवसरमा सांसद विष्टले मिलन मोड़ व्यापारी सङ्घ, सिलगढ़ी व्यापारी सङ्घ, प्रचार माध्यम तथा पत्रकारहरू, सिलगढ़ी पुलिस, प्रशासनिक अधिकारीहरू, साझेदार सङ्घ-संस्थाहरू, स्वयंसेवकहरू, शुभचिन्तकगण, समर्थक तथा आयोजन समितिका सम्पूर्ण साथीहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
यस महोत्सवको सबैभन्दा ठूलो विशेषता यसमा क्षेत्रका जनता, युवा तथा बालबालिकाहरूको भारी सहभागिता रह्यो। युवा पुस्ताको सहभागितामाथि प्रकाश पार्दै सांसद विष्टले युवाहरूलाई आफ्ना जरासँग जोड्ने, भाषा, साहित्य, इतिहास, नृत्य, सङ्गीत र परम्पराहरूसँग परिचित गराउँदै सांस्कृतिक पहिचानप्रति गहिरो गर्वको भावना जगाउनु नै यसको मुख्य उद्देश्य रहेको बताए। उनले देउसी-भैलो केवल गाउने, नाच्ने र रमाइलो गर्ने माध्यम मात्र नभई यो पुर्खाहरूको इतिहास, विरासत, साझा चिनारी र एकताको बलियो भावनाको जीवन्त अभिव्यक्ति भएको धारणा राखे।
महोत्सवलाई थप रङ्गीन र भव्य बनाउन ख्यातिप्राप्त कलाकार तथा ब्यान्डहरूको सहभागिता रहेको थियो। यस सन्दर्भमा सांसद विष्टले राजु लामा र मङ्गोलियन हार्ट, द एलिमेन्ट्स ब्याण्ड, कर्मा शेर्पा, तृष्णा गुरुङ र द कोल्याब, तथा पूर्ण राई र दाजुभाइ लगायत सम्पूर्ण सांस्कृतिक टोली, कलाकार र दर्शकवृन्दप्रति विशेष कृतज्ञता ज्ञापन गरे। आगामी दिनका योजनाहरूप्रति प्रतिबद्धता व्यक्त गर्दै उनले भाषा, साहित्य, इतिहास र परम्पराहरूलाई भावी पुस्ताका लागि संरक्षण गर्न मिलेर काम गर्ने बताए। साथै, आगामी दिनमा एमपी देउसी-भैलो महोत्सवलाई वार्षिक रूपमा आयोजना गर्दै देशभरबाट सहभागिता सुनिश्चित गर्ने घोषणा पनि उनले गरेका छन्।





