डुब्न लागेको सूर्यलाई पनि अर्घ्य दिने पर्व: छठ

IMG-20261114-WA0051

देवेन्द्र के ढुङगाना

सूर्यलाई हामीले सधैँ उदाउँदो सूर्यलाई मात्र पूजा गर्ने भनेर बुझ्ने गरेका छौँ। उदाउँदो सूर्य सफलताको प्रतीक हो, उज्यालोको प्रतीक हो, शक्तिको प्रतीक हो। तर बिहारको छठ पर्वले हामीलाई एउटा फरक र अझ गहिरो दर्शन सिकाउँछ, डुब्न लागेको सूर्यलाई पनि अर्घ्य दिइन्छ। किनभने जीवनमा उदय जति सत्य हो, अस्त पनि त्यति नै सत्य हो। जो उदाउँछ, त्यो डुब्छ पनि। जो आज शिखरमा छ, ऊ भोलि ओरालोमा पनि आउन सक्छ। त्यसैले छठले मान्छेलाई उदयमा मात्र होइन, अस्तमा पनि कृतज्ञ हुन सिकाउँछ।
छठ पर्व मूलतः बिहारको धार्मिक पर्वका रूपमा चिनिए पनि आज यो पर्व भारतभर, नेपालभर र विश्वभर जहाँ जहाँ बिहारी, मैथिली, भोजपुरी र नेपाली समुदाय पुगेका छन्, त्यहाँ त्यहाँ मनाइन्छ। तराईको जनकपुर, विराटनगर, वीरगन्ज, झापा,काठमाडौंको कमलपोखरी र रानीपोखरीदेखि लिएर दिल्लीको यमुना घाट, मुम्बईको जुहु चौपाटी, अमेरिकाको न्युजर्सी र अष्ट्रेलियाको सिड्नीका नदी किनारसम्म छठका व्रतालुहरू घुँडासम्म पानीमा उभिएर सूर्यलाई अर्घ्य दिइरहेका हुन्छन्। यो पर्व अब कुनै एक प्रदेशको पर्व रहेन, यो प्रवासीहरूको पहिचान, घरको सम्झना र आस्थाको सेतु बनेको छ।
छठको धार्मिक मान्यता गहिरो छ। चार दिनसम्म मनाइने यो पर्वमा नहाय-खायबाट सुरु भएर खरना, साँझको अर्घ्य र बिहानको अर्घ्यसम्म व्रतालुहरूले ३६ घण्टासम्म निराहार, निर्जल व्रत बस्छन्। सूर्यदेव र उनकी पत्नी छठी मैयालाई छोराछोरीको दीर्घायु, परिवारको सुख, रोगबाट मुक्ति र समृद्धिका लागि पूजा गरिन्छ। कतिपय शास्त्रीय मान्यताअनुसार महाभारतकी द्रौपदीले पनि सूर्यको उपासना गरेकी थिइन्, कर्ण सूर्यपुत्र भएकाले पनि यो पर्वमा सूर्यको विशेष स्थान छ। तर छठको सबैभन्दा ठूलो विशेषता के भने, यो पर्वमा न कुनै पण्डित चाहिन्छ, न कुनै ठूलो मन्दिर, न कुनै महँगो पूजा सामग्री। घाटमा गएर, नदी, पोखरी वा तलाउमा उभिएर, बाँसको सुपलीमा ठेकुवा, फलफूल र उखु राखेर सूर्यलाई अर्घ्य दिए पुग्छ। जात, वर्ग, धनी र गरिबको भेदबिना सबै एउटै पानीमा उभिन्छन्, एउटै सूर्यलाई हेर्छन्।
यसैले छठलाई लोक पर्व पनि भनिन्छ। यो शास्त्रको भन्दा बढी लोकको पर्व हो, महिलाहरूको पर्व हो। घरका बूढी आमैदेखि नयाँ बुहारीसम्मले यो व्रत लिन्छन्। छठको गीतमा घर, माइती, छोरा, पति र परिवारप्रतिको मायालु भाव झल्किन्छ। ठेकुवाको सुगन्ध, छठी घाटको भीड, नयाँ कपडा र सिउँदोमा सिन्दूर हालेर अर्घ्य दिने महिलाको दृश्यले तराईको समाजलाई नै एउटा उत्सवमा बदलिदिन्छ।
तर समसामयिक दृष्टिले छठमाथि समीक्षा गर्दा केही प्रश्न पनि उठ्छन्। एउटा प्रश्न प्रदूषणको हो। काठमाडौं र विराटनगरजस्ता सहरमा पोखरी र नदीको पानी प्रदूषित हुँदै गएको छ। व्रतालुहरू त्यही पानीमा घण्टौँ उभिनुपर्छ। अर्को प्रश्न व्यावसायीकरणको हो। पहिले गाउँघरमा मिलेर बनाइने घाट अहिले राजनीतिक दल र नेताहरूको प्रचारस्थल बन्न थालेका छन्। घाटमा आफ्नो फोटो, ब्यानर र भाषणले छठको मौलिकता नै हराउने हो कि भन्ने चिन्ता पनि छ। तेस्रो प्रश्न, छठलाई केवल बिहारीहरूको पर्व भनेर साँघुरो घेरामा राख्ने प्रवृत्तिको हो। नेपालमा तिहार र छठलाई जोडेर हेर्ने हो भने, दुवै पर्वले उज्यालो, कृतज्ञता र परिवारको भाव बोकेका छन्। छठलाई मधेशीको मात्र पर्व होइन, सबै नेपालीको साझा पर्वका रूपमा स्वीकार गर्नु अहिलेको आवश्यकता हो।
अर्कोतर्फ, छठले आधुनिक समाजलाई एउटा ठूलो सन्देश पनि दिएको छ। आजको मान्छे सफलतालाई मात्र पूजा गर्छ, असफललाई हेला गर्छ। जागिरमा माथि पुगेकोलाई सम्मान गर्छ, तल झरेकालाई बिर्सन्छ। छठले भन्छ, होइन, डुब्दै गरेको सूर्य पनि पूजनीय छ, किनभने ऊ भोलि फेरि उदाउने छ। बुढेसकाल, रोग, दुःख र असफलता पनि जीवनकै अंश हुन्, तिनलाई पनि सम्मान गर्नुपर्छ। यो दर्शन नै छठको सबैभन्दा ठूलो समसामयिक सान्दर्भिकता हो।

त्यसैले छठ केवल व्रत बस्ने र अर्घ्य दिने पर्व मात्र होइन, यो प्रकृतिप्रतिको कृतज्ञता हो, सूर्य, पानी, माटो र अन्नप्रतिको सम्मान हो। जब व्रतालु साँझपख डुब्दै गरेको सूर्यलाई हेरेर अर्घ्य दिन्छन् र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई हेरेर फेरि अर्घ्य दिन्छन्, तब उनीहरूले जीवनको एउटा पूर्ण चक्रलाई स्वीकार गरिरहेका हुन्छन्। यही कारणले बिहारबाट सुरु भएको छठ आज विश्वभर फैलिएको छ। किनभने मान्छेलाई जहाँ गए पनि उज्यालो चाहिन्छ, र डुब्न लागेको उज्यालोलाई पनि माया गर्न सक्ने संस्कृतिको खाँचो झन् बढ्दै गएको छ।

About Author

Advertisement