बेङ्गलुरुमा १५ हजार करोडका परियोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीको सम्बोधन
नयाँ दिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कर्नाटकको बेङ्गलुरुमा १५ हजार करोड भारुभन्दा बढीका विभिन्न विकास परियोजनाहरूको उद्घाटन तथा शिलान्यास गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आज भारत ‘चिपदेखि शिपसम्म’ (अर्थात् प्रविधिदेखि जहाज निर्माणसम्म), कृत्रिम बुद्धिमत्ता (एआई), डेटा सेन्टरदेखि क्वान्टम कम्प्युटिङसम्मका नयाँ प्रविधिहरूमा नेतृत्व गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन्।
राज्यपाल सुधा यादवको समर्पणको प्रशंसा
कार्यक्रमको सुरुवातमा प्रधानमन्त्री मोदीले कर्नाटककी राज्यपाल सुधा यादवसँग पहिलो पटक मञ्च साझा गर्ने अवसर मिलेको उल्लेख गरे। उनले सुधा यादव र उनको परिवारको जीवनबाट देश सेवा र समर्पण के हो भन्ने सिक्न सकिने बताए। कारगिल युद्धमा उनका श्रीमानले सर्वोच्च बलिदान दिएको स्मरण गर्दै मोदीले त्यसपछि पनि उनले मातृभूमिको सेवा गर्ने प्रण निभाउँदै निरन्तर सेवाभावले काम गरिरहेको बताए।
कनेक्टिभिटी र ऊर्जा सुरक्षामा जोड
बेङ्गलुरुकी अधिष्ठात्री देवीलाई श्रद्धापूर्वक प्रणाम गर्दै प्रधानमन्त्री मोदीले आजको दिन कर्नाटकको विकास यात्रामा नयाँ गति दिने दिन भएको बताए। कनेक्टिभिटी र ऊर्जा सुरक्षासँग जोडिएका १५ हजार करोड भारुभन्दा बढीका परियोजनाहरू सुरु भएको जानकारी दिँदै उनले मेट्रो र रेलदेखि ऊर्जा सुरक्षासम्मका कामले कर्नाटकको पूर्वाधारलाई नयाँ शक्ति प्रदान गर्ने उल्लेख गरे।
५० करोड नागरिक चरम गरिबीबाट बाहिर
कुनै पनि देशको विकास यात्रामा पूर्वाधारको ठुलो भूमिका हुने बताउँदै प्रधानमन्त्री मोदीले बेहतर कनेक्टिभिटीले प्रगति, रोजगारी र उद्योगका नयाँ सम्भावनाहरू बढाउने बताए। विकासका अवसर समाजको हरेक वर्गसम्म पुग्दा गरिबीविरुद्धको लडाइँ बलियो हुने उनको भनाइ थियो। यसैको परिणामस्वरूप विगतका वर्षहरूमा देशका करिब ५० करोड नागरिक चरम गरिबीबाट बाहिर निस्कन सफल भएको उनले दाबी गरे।
नवीकरणीय ऊर्जा क्षमता ३०० मेगावाट नाघ्यो
ऊर्जा सुरक्षाको महत्त्वपूर्ण पक्ष विद्युत् उत्पादन रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले भारत सौर्य ऊर्जादेखि अन्य उदीयमान ऊर्जा समाधानहरूसम्म नयाँ प्रविधिमा नेतृत्व हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए। भारतको नवीकरणीय ऊर्जा क्षमता अब ३०० मेगावाट पार गरिसकेको जानकारी दिँदै उनले केन्द्र सरकारका योजनाहरूका कारण नागरिकहरू अब विद्युत् उपभोक्ता मात्र नभई उत्पादक पनि बनिरहेको बताए। मध्यम वर्गको बचत बढाउने र क्रयशक्ति बलियो बनाएर देशको आर्थिक प्रगतिमा साझेदार बनाउने सरकारको प्रयास रहेको उनले स्पष्ट पारे।





