सिलगढी: प्रतिबन्धका बाबजुद सहरका विभिन्न भागमा आतसबाजी र पटका पड्काइएपछि ध्वनि तथा वायु प्रदूषणलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेका बेला पर्यटन मन्त्री डा. शङ्कर घोषले अघिल्ला वर्षहरूका तुलनामा प्रदूषणमा उल्लेख्य कमी आएको दाबी गर्नुभएको छ।
सरकारको धारणा स्पष्ट पार्दै मन्त्री डा. घोषले तथ्याङ्क प्रस्तुत गरी कालीपूजाका बेला वायु र ध्वनि प्रदूषण दुवैमा सुधार आएको बताउनुभएको हो।
उहाँका अनुसार सन् २०२१ नोभेम्बर ४ (कालीपूजाको दिन) मा औसत वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १३० रहेकोमा सन् २०२६ मा घटेर ८३ मा झरेको छ। यस तथ्याङ्कले वायुको गुणस्तरमा सकारात्मक सुधार आएको सङ्केत गर्ने मन्त्रीको भनाइ छ।
त्यसैगरी, ध्वनि प्रदूषणका सम्बन्धमा जानकारी दिँदै मन्त्री घोषले सन् २०२२ को कालीपूजाका बेला साँझ ७ बजेदेखि राति ११ बजेसम्म ध्वनि प्रदूषणको मात्रा १२० देखि १२४ डेसिबलसम्म पुगेको बताउनुभयो। तर सन् २०२६ को सोही अवधिमा भने ध्वनि प्रदूषण घटेर १०७ देखि ११० डेसिबलमा सीमित भएको उहाँको दाबी छ।
सरकार परिवर्तन भएयता कालीपूजाको समयमा हुने वायु र ध्वनि प्रदूषणका स्तरमा निरन्तर गिरावट आएको उहाँले दाबी गर्नुभएको छ।





