ग्यास सिलिन्डर विस्फोट हुँदा धेरै घर जलेर नष्ट, स्थानीय घाइते
डिब्रुगढ: असमको डिब्रुगढ सहरस्थित उत्तरी अमोलापट्टी क्षेत्रमा मङ्गलबार भीषण आगलागी भएको छ। आगलागीका कारण त्यस क्षेत्रका धेरै वटा घरहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
प्राप्त जानकारी अनुसार केही ग्यास सिलिन्डरहरू एकपछि अर्को गरी विस्फोट भएपछि आगोले भयानक रूप लिएको थियो। हेर्दाहेर्दै आगो आसपासका घरहरूमा फैलिएपछि स्थानीय बासिन्दामा भागाभाग र सन्त्रास छाएको थियो। आगलागीबाट स्थानीय तातु नाम गरेका व्यक्तिको घरका सम्पूर्ण सरसामान जलेर नष्ट भएको छ।
आगो नियन्त्रणमा लिने र थप फैलिन नदिने क्रममा केही स्थानीय बासिन्दा घाइते भएका छन्। घटनामा ठूलो परिमाणको भौतिक सम्पत्ति क्षति भएको छ भने प्रभावित परिवारहरू सडकमा पुगेका छन्।





