खरसाङ: पद्मश्री डा एकलव्य शर्माको विषयमा लिखित तथा खरसाङकी स्रष्टा डा आशा मुखिया लामाद्वारा सम्पादित ‘गार्जियन अफ् द हिमालयस – द लाइफ एण्ड लिगेसी अफ् पद्मश्री डा एकलव्य शर्मा’ नामक पुस्तकको लोकार्पण खरसाङ बजारदेखि पर गिध्द पहाडस्थित एक होटलमा सम्पन्न भएको छ। उक्त पुस्तकको लोकार्पण कार्यक्रममा मुख्य अतिथिको रुपमा सिक्किम सरकारका प्रशासनिक सुधार आयोगका चेयरम्यान डा शंकरदेव ढकाल उपस्थित रहेका थिए। विशिष्ट अतिथिको रुपमा पद्मश्री डा एकलव्य शर्मा, भारत सरकारका पूर्व आयुक्त मिलन रुचाल,पर्यटन क्षेत्रका गाँधी राज बसु, वरिष्ठ साहित्यकार छिमी ओङमु लामा, हिमाली स्कुलकी प्राचार्य ओमु भोटिया लगायत वरिष्ठ साहित्यकारहरु जीबी बल, डीएस दर्नाल, खरसाङ महाविद्यालयका प्राचार्य डा समीर बल साथै सिक्किम , दार्जिलिङ, कालेबुङ, मिरिक, सिलगढी, खरसाङ क्षेत्रका विशिष्ट व्यक्तित्वहरू उपस्थित रहेका थिए। डा अम्बिका लामा र दिपाञ्जली मुखियाले संयुक्त रुपमा सञ्चालन गरिएको उक्त लोकार्पण कार्यक्रमको शुरुमा प्रमुख अतिथि र विशिष्ट अतिथिहरुका बाहुलीबाट दीप प्रज्वलन गरिएको थियो। यसै कार्यक्रममा गोर्खा जातिका गौरव पद्मश्री डा एकलव्य शर्माको विषयमा डा आशा मुखिया लामाद्वारा सम्पादित एंव प्रकाशक पारस लामाको पक्षमा ज्ञानकुञ्ज बुक्स खरसाङद्वारा प्रकाशित ‘गार्जियन अफ् द हिमालयस – द लाइफ एण्ड लिगेसी अफ् पद्मश्री डा एकलव्य शर्मा’ नामक पुस्तकको लोकार्पण गरिएको छ। उक्त पुस्तकको लोकार्पण प्रमुख अतिथि डा शंकरदेव ढकाल, पद्मश्री डा एकलव्य शर्मा र सम्पादक डा आशा मुखिया लामा आदिको बाहुलीबाट सम्पन्न गरिएको छ। यस अवसरमा उक्त पुस्तकको लोकार्पण भएको घोषणा प्रमुख अतिथि डा शंकरदेव ढकालले गरेका थिए। यसै कार्यक्रममा डा आशा मुखिया लामा र परिवारको तर्फबाट पद्मश्री डा एकलव्य शर्मालाई सम्मान जनाइएको छ। यसको साथै डा एकलव्य शर्माको तर्फबाट सम्पादक डा आशा मुखिया लामा र प्रकाशक पारस लामालाई सम्मान जनाएका थिए। कार्यक्रममा पुस्तक सम्पादन र पद्मश्री डा एकलव्य शर्माको विषयमा जानकारी गराउँदै पुस्तकमा डा एकलव्य शर्मा विषयमा क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका सबै लेखकहरुलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले आफ्नो सम्बोधनमा भनिन् -‘यो पुस्तक डा एकलव्य शर्माले पद्मश्री पाउन अघि नै शुरु गरिएको थियो। डा एकलव्य शर्माले पर्यावरण साथै अन्य विषयमा शोध गरेर हाम्रो क्षेत्रको भाषा, साहित्य, संस्कार संस्कृति र विज्ञानलाई विश्वमा चिनाउने काम गर्नु भएको छ। यो पुस्तक निकाल्ने वर्षौं अघिको आकांक्षा हो। यस्तो बहुमूल्य पुस्तक सम्पादन गरेर प्रकाशित गर्ने अवसरको लागि डा एकलव्य शर्माप्रति आभार प्रकट गर्दछु।’

कार्यक्रममा पद्मश्री डा एकलव्य शर्माले आफ्नो सम्बोधनमा भने, म मेरा पुर्खाहरुको लिगेसीले यहाँ छु। मलाई आफ्नो क्षेत्रको लागि सदैव काम गरिरहनु मन लाग्छ। मेरो क्षेत्रको लागि काम गर्नु म सदैव तत्पर छु। पढेर मात्र होइन तर व्यवहारिक ज्ञान पनि मुख्य हुन्छ। मैले पाएको शिक्षालाई सदैव अरुलाई दिन चाहान्छु।’
डा शर्माले फादर, आब्राहाम, आफ्नो पीएचडीका गुरु लगायत परिवारका सबैलाई सम्झेका थिए। उनले आफ्नो सम्बोधनमा आफुले सानो उमेरदेखि गर्दै आएका राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गर्दै आएका विभिन्न कामहरुलाई सम्झेका थिए भने आफ्नो कामहरु विषयमा बताएका छन्। पद्मश्री डा एकलव्य शर्माले भने, ‘आफ्नो पीएचडीले आफ्नो क्षेत्रलाई विश्वमा चिनाउन सके। राम्रो काम गर्दै जाँदा हरेक कुरामा पहिलो भईदोरहेछ। कुनै राम्रो काम गरेको छ भने आफ्नो ज्ञान नै आफ्नो स्टाटस हो।’ उनले आफु ईण्डियन नेशनल साइन्स अकाडेमीमा फेलो पाउने तीनजना गोर्खाहरुमा एकजना रहेको जानकारी गराएका छन्। डा शर्माले आफ्नो मान्छेलाई सदैव सहयोग गर्नुपर्छ भन्दै सकेसम्म काम गर्दै जाने पनि बताए। उनले हालमा देश विदेशमा विभिन्न प्रोजेक्टहरुमा काम गरिरहेको र हालमा आफ्नै क्षेत्र दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक लगायत उत्तर बंगाल क्षेत्रका लागि पनि विशेष प्रोजेक्टमा काम गरिरहेको बताए। उनले यसको साथै हिमालय क्षेत्र अन्तर्गत विभिन्न राज्यहरुमा काम चलिरहेको पनि बताएका छन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित सिक्किम सरकारको प्रशासनिक सुधार आयोगका चेयरम्यान डा शंकरदेव ढकालले डा एकलव्य शर्माको प्रेरणाले धेरैले आफ्नो क्षेत्रको विभिन्न विषयमा पीएचडी गरेको र उनको पुस्तकहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध रहेको बताएका छन्। उनले डा एकलव्य शर्माले सिक्किमका लागि पनि धेरै कामहरु गरेको जानकारी गराएका छन्। डा ढकालले डा शर्माले विज्ञानलाई अघि राखेर विभिन्न देशहरुमा गएर महत्वपूर्ण कामहरु गरेको जानकारी गराएका छन्। उनले पद्मश्री डा एकलव्य शर्माको विषयमा पुस्तक सम्पादन गरेर प्रकाशित गरेर डा आशा मुखिया लामाले महत्वपूर्ण कार्य गरेकी बताएका छन्। कार्यक्रममा धन्यवाद ज्ञापन दिपाञ्जली मुखियाले राखेकी थिइन्। कार्यक्रमपछि पद्मश्री डा एकलव्य शर्मा र पुस्तककी सम्पादक डा आशा मुखिया लामा दुवैले सबैको पुस्तकमा हस्ताक्षरसहित आभार प्रकट गरेका थिए।





