सोनादा: सेलेसियन कलेज (अटोनोमस), सोनादाद्वारा “हार्मोनिज अफ टुमोरो: सेलिब्रेटिङ युथ, कल्चर एन्ड इनोभेसन” थिममा ‘सेलेसियन फिएस्टा २०२६ आयोजना गरिएको छ। अन्तर विद्यालयस्तरीय यस महोत्सवमा अलिपुरद्वार, खरसाङ र दार्जिलिङलगायत विभिन्न क्षेत्रका १८ वटा विद्यालयका लगभग १६० जना विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।विद्यार्थीहरूलाई आफ्नो प्रतिभा र सिर्जनात्मकता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित यस महोत्सवमा एकल गायन, सामूहिक नृत्य, चित्रकला, कथा वाचन, कविता लेखन तथा वाचन, फेस पेन्टिङ, मोबाइल फोटोग्राफी, चेस, गेमिङ, रिल मेकिङ, एकल नृत्य र सांस्कृतिक फेसन शो गरी १३ वटा प्रतियोगिताहरू समावेश गरिएको थियो।

कार्यक्रमको सुरुवात दीप प्रज्वलनबाट भएको थियो। त्यसपछि कलेजका उप-प्रधानाध्यापक डा. टेरेन्स मुखियाले सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनीहरूलाई स्वागत गर्नुभयो। आफ्नो सम्बोधनका क्रममा उनले यस्ता अन्तर विद्यालयस्तरीय कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने, नयाँ अनुभव प्राप्त गर्ने बताए। उनले विद्यार्थीहरूलाई प्रतियोगितामा उत्साहपूर्वक सहभागी हुँदै आफ्नो सिर्जनात्मकता र क्षमताको प्रदर्शन गर्न प्रोत्साहन गरे।
उद्घाटन समारोहमा कलेजका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। यसका साथै सहभागी विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

प्रतियोगिताहरू कलेज परिसरका विभिन्न स्थानहरूमा एकैसाथ सञ्चालन गरिएका थिए। महोत्सवको समापनमा आयोजित समापन समारोहमा विजयी सहभागीहरूलाई पुरस्कृत गरियो। प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूलाई सहभागिताका लागि प्रमाण पत्रहरु प्रदान गरियो।





