​सिक्किमका राज्यपाल दुष्यन्त गौतमद्वारा नयाँ एसटीएनएम अस्पताल र मेडिकल कलेजको भ्रमण

f1bafabc-f7ba-4538-b147-64cd1cef6cdc

​गान्तोक: सिक्किमका राज्यपाल दुष्यन्त गौतमले पदभार ग्रहण गरेपछि आज गान्तोकस्थित नयाँ सर थुटोब नामग्याल मेमोरियल (एसटीएनएम) अस्पतालको भ्रमण गर्नुभएको छ। यस अवसरमा उहाँले अस्पतालका विभिन्न वार्डहरूको निरीक्षण गर्दै उपचाररत बिरामीहरूसँग भेटघाट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो। साथै, बिरामीहरूलाई फलफूलको टोकरी प्रदान गर्दै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। उहाँले अस्पतालमा उपलब्ध आधारभूत सुविधाहरूको पनि निरीक्षण गर्नुका साथै विभिन्न महत्त्वपूर्ण सुझावहरू दिनुभयो। यस अवसरमा राज्यपालका आयुक्त एवं सचिव जितेन्द्र सिंह राजे पनि उपस्थित हुनुहुन्थ्यो।
​अस्पताल परिसरमा राज्यपालले स्वास्थ्य विभागका सचिव छेवाङ ग्याछो तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुथ योञ्जनसँग समीक्षा बैठक गर्नुभयो। बैठकमा उहाँले अस्पतालको भौतिक पूर्वाधार, जीवनरक्षक औषधिहरूको उपलब्धता, चिकित्सक तथा अर्धचिकित्सकीय कर्मचारीहरूको कार्यशैली र समग्र स्वास्थ्य सेवा प्रणालीबारे विस्तृत जानकारी लिनुभयो।


​त्यसपछि राज्यपालले नवनिर्मित हेलेन लेप्चा सिक्किम सरकारी मेडिकल कलेजको पनि भ्रमण गर्नुभयो। त्यहाँ उहाँले सर्वप्रथम स्वतन्त्रता सेनानी हेलन लेप्चाको प्रतिमामा खदा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभयो। यसपछि उहाँले चिकित्सा शिक्षासम्बन्धी पूर्वाधार, प्रयोगशाला तथा शैक्षिक गतिविधिहरूको समीक्षा गर्नुका साथै मेडिकल कलेजको पहिलो समूहका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नुभयो।
​यसका अतिरिक्त, राज्यपालले अस्पतालका प्राध्यापक तथा अधिकारीहरूसँग कुराकानी गर्दै उक्त संस्थान नयाँ भारत निर्माणको विकासद्वार रहेको बताउनुभयो। उहाँले युवा विद्यार्थीहरूलाई पूर्ण निष्ठा र सेवाभावका साथ चिकित्सा क्षेत्रमा अघि बढ्न आग्रह गर्नुभयो। साथै, भविष्यमा सिक्किमसहित देशका दुर्गम क्षेत्रहरूसम्म सर्वसुलभ स्वास्थ्य सेवा पुर्‍याउन उनीहरूले अमूल्य योगदान दिन सक्ने विश्वास व्यक्त गर्नुभयो।
​

About Author

Advertisement