३० अक्टोबरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा आइतवार चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको म्याचमा गोर्खा स्पोर्टिंग क्लब नागरीले सौरेनी एफसी-लाई टाईब्रेकरमा ३-२-ले पराजित गऱ्यो।नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। अब ५ नोभेम्बरको दिन खेलिने पहिलो सेमिफाइनल म्याचमा जंक्शन स्टार सिलगढ़ी र लोहागढ़ एफसी-बीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै इण्टर स्कूल गर्ल्स फूटबल टुर्नामेण्टमा आज भएको म्याचमा सौरेनी रविन्द्रनाथ हाई स्कूलले ग्रीन लन स्कूललाई ३-१-ले पराजित गऱ्यो। आज मुख्य अतिथिको रूपमा टिंगलिंगका गम्भीर थापा, नव जागरण संघका संस्थापक सदस्य सुखबीर थापा, रमेश लुंगेली, तक्निकी सल्लाहकार नीरज खाम्बेन राई, नव जागरण संघका अध्यक्ष विजय लामा अनि सिंगबुलीबाट सूर्य बहादुर खवास उपस्थित थिए।











