सोरेङ: जिल्ला प्रशासनिक केन्द्र (डीएसी) सोरेङ र खेलकुद तथा युवा मामिला विभाग, सोरेङ जिल्लाको संयुक्त आयोजनामा मालबासेस्थित डन बोस्को स्कूलमा ‘५-के रन २०२६’ सम्पन्न भएको छ। पहिलो क्षेत्रीय अन्तर-विद्यालय बास्केटबल च्याम्पियनसिप २०२६ को अवसर पारेर “सहनशीलताका लागि दौड” भन्ने नाराका साथ उक्त दौड प्रतियोगिता सञ्चालन गरिएको हो।
विद्यार्थी तथा स्थानीय समुदायमा शारीरिक सुगठन, सहनशीलता, खेल भावना र खेलकुद गतिविधिप्रतिको सक्रिय सहभागितालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त दौडको उद्घाटन सोरेङका अतिरिक्त जिल्ला मजिस्ट्रेट (एडीएम) डिआर विष्टले झण्डोत्तोलन गरेर गर्नुभएको थियो।
प्रतियोगिता फन रन, १७ वर्षमुनिका छात्र र १७ वर्षमुनिका छात्रा गरी तीन वटा विधामा विभाजन गरिएको थियो। जसमा कुल २७५ जना धावकहरूले सहभागिता जनाएका थिए। जसमध्ये फन रनमा ७५ जना, १७ वर्षमुनिका छात्रतर्फ १०० जना र छात्रातर्फ १०० जनाको सहभागिता रहेको थियो।
प्रतियोगिताका विजेताहरू:
१७ वर्षमुनिका छात्रतर्फ:
प्रथम: रोहित गुरुङ (सरकारी वरिष्ठ माध्यमिक विद्यालय, सोरेङ)
द्वितीय: अनमोल क्षेत्री (सरकारी तिम्बुरबोङ वरिष्ठ माध्यमिक विद्यालय)
तृतीय: सुदेन हाङ राई (सरकारी वरिष्ठ माध्यमिक विद्यालय, सोरेङ)
१७ वर्षमुनिका छात्तातर्फ:
प्रथम: तनुजा गुरुङ (सरकारी वरिष्ठ माध्यमिक विद्यालय, सोरेङ)
द्वितीय: केजिहा राई (सरकारी वरिष्ठ माध्यमिक विद्यालय, सोरेङ)
तृतीय: जेनिना मगर (सरकारी वरिष्ठ माध्यमिक विद्यालय, सोरेङ)
विजेता तथा सहभागीहरूलाई उनीहरूको उत्कृष्ट प्रदर्शन र सहभागिताको कदर गर्दै पदक, पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो। साथै शीर्ष १० स्थान हासिल गर्ने धावकहरूलाई सान्त्वना पुरस्कारसमेत प्रदान गरिएको छ।
यस ५-के रनले सोरेङ जिल्लामा खेलकुद र युवा संलग्नता बढाउने व्यापक प्रयासलाई सहयोग पुर्याउँदै युवाहरूमाझ फिटनेस, निरन्तरता र स्वस्थ प्रतिस्पर्धाको संस्कृतिलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।





