खरसाङ: नमस्ते खरसाङको आयोजनामा खरसाङमा प्रथमचोटि आइतवार शायरी साँझ सम्पन्न भयो। यहाँको एउटा होटलमा सम्पन्न यस साँझमा खरसाङका शायर तथा वरिष्ठ अधिवक्ता रमेश अग्रवालले स्वरचित शयरीहरू प्रस्तुत गरे। उनको एकल शायरी वाचनले खरसाङमा पनि प्रायः लुप्त प्राय बनिसकेको शायरी लेखनमा थप उर्जा प्राप्त भएको अनुभव उपस्थित दर्शकहरूले गरे। कार्यक्रमलाई सञ्चालन गर्दै कार्यक्रमको औचित्य र उद्देश्यबारे नमस्ते खरसाङ च्यानलका निर्देशक निर्मल गुरूङले अवगत गराए। यस कार्यक्रमलाई थप मनोरञ्जन अनि महत्वपूर्ण बनाउन अतिथि साहित्यकारको रूपमा कालेबुङबाट गजलकार अरूण साङपाङले पनि स्वरित गजलहरू प्रस्तुत गरे। यसै अवसरमा नमस्ते खरसाङ च्यानललाई सदैव सहयोग पुऱ्याउने तथा माया प्रदान गर्ने आकाशवाणी खरसाङबाट भर्खरै अवकाश ग्रहण गरेका प्राविधिक कर्मचारी सुधीर गुरुङलाई पनि सम्मान जनाइयो। कार्यक्रममा स्थानीय लगायत सिलगढी, कालेबुङ आदि क्षेत्रबाट ख्याति आर्जित साहित्यकार, गायक, संगीतकार तथा वरिष्ट अनि विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उमेश कार्कीडोलीले पनि आफ्नो स्वरचित कविता प्रस्तुत गरे भने वरिष्ठ पत्रकार मुरारीलाल पञ्चमले केही शायरीहरू प्रस्तुत गरे औ कालेबुङका युवा गजलकार सुवास श्रेष्ठले गजलहरू प्रस्तुत गरेका थिए।





