अहमदाबाद: गुजरातको मोरबीमा आइतबार एउटा ठूलो दुर्घटना भएको छ। यहाँको केबल ब्रिजको पुल भत्किँदा धेरै मानिस पानीमा डुबेका छन्। यो केबल पुल मच्छु नदीमा निर्माण गरिएको हो। घटनाको समयमा पुलमा दर्जनौं भक्तजन उपस्थित रहेको बताइएको छ। हालसम्म डुबेर मृत्यु हुनेको संख्या स्पष्ट नभए पनि १० जनाभन्दा बढीको डुबेर मृत्यु भएको बताइएको छ। त्यहाँ धेरै मानिस घाइते पनि भएका छन्। घटनापछि घटनास्थलमा हलचल मच्चियो। पुलिस र प्रशासनको टोली घटनास्थलमा पुगेको छ। राहत कार्य चलिरहेको छ। पाँच दिनअघि मरम्मतपछि पुनः सर्वसाधारणका लागि खुला गरिएको थियो।
घटनापछि मुख्यमन्त्री भूपेन्द्र पटेलले ट्विट गर्दै भनेका छन्, ‘मोरबीमा झोलुङ्गे पुल भत्किँदा भएको दुःखद घटनाबाट म गहिरो दुःखी छु। राहत र उद्धार कार्य जारी छ। घाइतेहरुको तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिइएको छ। यस सम्बन्धमा म जिल्ला प्रशासनसँग निरन्तर सम्पर्कमा छुl’ मोरबीमा भएको दुर्घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातका मुख्यमन्त्री र अन्य अधिकारीहरूसँग कुरा गरेका छन्। उनले उद्धार कार्यका लागि तत्काल टोली परिचालन गर्न, अवस्थाको नजिकबाट र निरन्तर अनुगमन गर्न र पीडितलाई सक्दो सहयोग गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले मोरबी दुर्घटनामा ज्यान गुमाएका प्रत्येकका आफन्तलाई पीएमएनआरएफबाट २ लाख रुपियाँको क्षतिपूर्ति घोषणा गरेका छन्। साथै घाइतेलाई ५० हजार रुपियाँ क्षतिपूर्ति दिने घोषणा गरिएको छ।










