लोकभवन परिसरमा राष्ट्रिय एकता दिवसको अवसरमा माल्यार्पण कार्यक्रम सम्पन्न

FB_IMG_1793449785124

गान्ताेक: राष्ट्रिय एकता दिवसको अवसरमा आज लोकभवन, सिक्किम परिसरमा भारतका लौहपुरुष सरदार वल्लभभाई पटेलको जन्मजयन्ती श्रद्धापूर्वक मनाइएको छ।
सो अवसरमा सिक्किमका राज्यपाल दुष्यन्त गौतमको तर्फबाट आयुक्त तथा सचिव जितेन्द्र सिंह राजेले लोकभवन परिसरमा रहेको सरदार वल्लभभाई पटेलको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ।
कार्यक्रममा राजभवन सचिवालयका अधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। माल्यार्पणपश्चात् उपस्थित सबै अधिकारी तथा कर्मचारीहरूले देशको एकता, अखण्डता र सुरक्षा कायम राख्न राष्ट्रिय एकता दिवसको शपथ लिएका छन्।
सो अवसरमा आयुक्त तथा सचिवले राष्ट्रिय एकता र अखण्डताका महान् शिल्पकार ‘लौहपुरुष’ सरदार वल्लभभाई पटेललाई नमन गर्दै भारतलाई एक सूत्रमा आबद्ध गर्ने उनको अतुलनीय योगदान र राष्ट्रप्रतिको अटूट समर्पणले सबैलाई सदैव प्रेरित गरिरहने बताएका छन्।
सरदार वल्लभभाई पटेल स्वतन्त्र भारतका पहिलो उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्थ्यो। देशका ५०० भन्दा बढी रियासतहरूको एकीकरण गरी अखण्ड भारतको निर्माणमा उनको ऐतिहासिक भूमिका रहेको कारण उनलाई ‘भारतका लौहपुरुष’ भनिने गरिएको छ। देशको अखण्डता र सार्वभौमसत्तामा उनको अतुलनीय योगदानको सम्मानस्वरूप प्रत्येक वर्ष ३१ अक्टोबरमा उनको जन्मजयन्ती ‘राष्ट्रिय एकता दिवस’ का रूपमा मनाउने गरिन्छ।

About Author

Advertisement