तावाङ(अरुणाचल प्रदेश): सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले उत्तर–पूर्वी भारतलाई एकीकृत र विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा विकास गर्न सबै आठ राज्यहरूबीच सामूहिक सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ।
अरुणाचल प्रदेशको तावाङमा बिहीबारदेखि सुरु भएको १४ औँ अन्तर्राष्ट्रिय पर्यटन मार्ट (आइटीएम) २०२६ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले दिगो पर्यटन, सुदृढ यातायात सञ्जाल, सांस्कृतिक संरक्षण र समावेशी आर्थिक विकासमा जोड दिनुभएको हो।
सम्बोधनका क्रममा उहाँले सिक्किम र अरुणाचल प्रदेशबीच रहेको साझा हिमाली सभ्यता, धनी सांस्कृतिक परम्परा तथा प्राकृतिक सौन्दर्यको चर्चा गर्नुभयो। मुख्यमन्त्री तामाङले भन्नुभयो, “उत्तर–पूर्वी क्षेत्रको पर्यटकीय क्षमता उजागर गर्न आठै राज्यले एकजुट भएर सहकार्य गर्न आवश्यक छ।”
उहाँले सिक्किममा सञ्चालित ‘मेगा होमस्टे योजना’, ओझेलमा परेका पर्यटकीय स्थलहरूको प्रवर्द्धन तथा स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्न पूर्वाधार विकासमा सरकारले जोड दिँदै आएको जानकारी गराउनुभयो। पर्यटन र आर्थिक समृद्धिका लागि सहज पहुँच प्राथमिक सर्त भएको उल्लेख गर्दै उहाँले राष्ट्रिय राजमार्ग–१० लाई सबै मौसममा निरन्तर सञ्चालन हुनसक्ने (अल–वेदर) राजमार्गका रूपमा स्तरोन्नति गर्नुपर्ने अपरिहार्यता औँल्याउनुभयो।
सो अवसरमा उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय पर्यटन मन्त्री गजेन्द्रसिंह शेखावत, अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डू, केन्द्रीय पर्यटन मन्त्रालय तथा अरुणाचल प्रदेश सरकारप्रति निमन्त्रणा र न्यानो आतिथ्यताका लागि आभार व्यक्त गर्नुभयो।
भारत सरकारको पर्यटन मन्त्रालयको मार्गदर्शनमा अरुणाचल प्रदेश सरकारद्वारा आयोजित यो तीन दिने अन्तर्राष्ट्रिय पर्यटन मार्ट कात्तिक १३ देखि १५ गतेसम्म (अक्टोबर २९ देखि ३१) चल्नेछ।
उक्त कार्यक्रममा सिक्किमका पर्यटन तथा नागरिक उड्डयन मन्त्री छिरिङ टी. भुटिया, अध्यक्ष सोनाम नोर्गे लाचुङ्पा, सचिव होण्डला ग्याल्त्सेन, सह–निर्देशक लामिन थिङ, उप–निर्देशक यामिनी प्रधान तथा छिरिङ ओङ्मु भुटियालगायत उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता रहेको छ। यसैगरी, टास, आस्था र समिट ग्रुप अफ होटल्सजस्ता सिक्किमका पर्यटन व्यवसायी तथा सरोकारवाला संस्थाहरूको समेत सक्रिय उपस्थिति छ।





