कालचिनी – बिहारी/भोजपुरी समुदायको पवित्र चाढ़ छठ पूजाको आज सर्वत्र पालन भइरहेको क्रममा कालचिनी खण्डको बासरा, तोर्षा, डिमा र कालजनी नदीको घाटहरूमा आज श्रद्धा र भक्तिसहित छठ पूजाको प्रथम अर्घ्य सम्पन्न भएको देखियो। आज यस क्रममा कालचिनी बासराघाट छठ पूजा कमिटीको आयोजनामा बासरा नदीको बगरमा सम्पन्न छठ पूजाको उद्घाटन अलिपुरद्वार जिल्ला शासक सुरेन्द्रकुमार मीणा लगायत अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक वाई रघुवंशी एवम् कालचिनी बीडीओ प्रशान्त बर्मनको उपस्थितिमा दीप प्रज्वलनसितै गरिएको थियो।

यस अवसरमा विशिष्ट अतिथिहरूमा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बडाइक, कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव, अलिपुरद्वार एसडीपीओ देवाशीष चक्रवर्ती, कालचिनी थाना प्रभारी टीएन लामा, छात्रा नेता हैदर अली अन्सारी एवम अन्यान्यको उपस्थिति रहेको थियो। छठ पूजाको उद्घाटन अवसरमा उपस्थित जिल्ला शासक सुरेन्द्रकुमार मीणा र पुलिस अधीक्षक वाई रघुवंशीले अलिपुरद्वार जिल्ला एउटा लघु भारतको साक्षात उदाहरण रहेको र छठ पूजा प्रत्येक बर्ष नै कालचिनीमा भव्यताको साथ पालन हुँदै आइरहेको र पवित्र छठ पूजाको उपलक्ष्यमा सबैलाई सुस्वास्थ्य र शुभकामना ज्ञापन गरेको थियो।
मञ्चमा उपस्थित अतिथिहरुको सम्मान पश्चात मुख्य अतिथि अलिपुरद्वार जिल्ला शासक सुरेन्द्रकुमार मीणा लगायत अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक वाई रघुवंशी एवम् विशिष्ट अतिथिहरुले छठ घाटको परिभ्रमण गरेको थियो भने आयोजक कमिटीद्वारा व्यवस्था गरिएको तयारीको निम्ति कमिटीलाई बधाई दिएको थियो। छठ घाटको परिभ्रमण पश्चात प्रस्थान गर्ने क्रममा अलिपुरद्वार जिल्ला शासक सुरेन्द्र कुमार मीणाले राज्य सरकारको निर्देश अनुसार अलिपुरद्वार जिल्लाभरीको छठ पूजाको घाटहरुमा प्रशासनिक सुरक्षा व्यवस्था रहेको र कुनै प्रकारको दुर्घटना नहोस यसको पुरा तयारी भएको र आफू लगायत पुलिस अधीक्षकले घाटहरुको निरीक्षण गरेको र छठ पूजाको अवसरमा सबैलाई शुभकामना रहेको जनाएका छन।











