खोरीबारी: तीनजना तस्करलाई आज ब्राउन सुगर सितै पक्राउ गरिएको छ। पुलिसले पक्राउ गरेपछि सिलगढी अदालतमा पेश गर्यो। यस काण्डमा पक्रा परेकाहरूमा मुर्शिदाबाद जिल्ला निवासी सुदीप्त हलदार (३५), सुमोत दास (२०) र गौरव पोद्दार (३४) सामेल रहेका छन्। जानकारी अनुसार खोरीबारी थाना पुलिसले गोप्य सूचनाको आधारमा खोरीबारी खण्डको भारत-नेपाल सिमानाको पानीट्याङ्की गौडसिंह जोतमा अभियान चलाएर एउटा वाहनबाट २५० ग्राम ब्राउन सुगर उद्धार गरेको छ भने यसको अनुमानित बजार मूल्य ५ लाख रुपियाँ रहेको बताइएको छ। घटनामा अन्य कोही संलग्न रहेको हुनसक्ने भन्ने विषयमा खोरीबारी थाना पुलिसले जाँच शुरू गरेको छ।











