दार्जिलिङ: दार्जिलिङको चौरास्ता परिसरमा नवौँ सरस मेलाको भव्य उद्घाटन गरिएको छ। उक्त सरस मेलाको उदघाटन पश्चिम बङ्गाल सरकारका पञ्चायत तथा ग्रामीण विकास मन्त्री दिलीप घोष र पश्चिम बङ्गाल सरकारका पञ्चायत तथा ग्रामीण विकास विभागका राज्यमन्त्री सन्तनु प्रमाणिकले गरेका छन्। सरस मेला ग्रामीण क्षेत्रका स्वयं सहायता समूह तथा स्थानीय कारीगरहरूलाई आफ्ना हस्तनिर्मित सामग्री, कला, सीप र उत्पादनहरूलाई बृहत् बजारसम्म पुर्याउने अवसर प्रदान गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा परिचित छ। यस मेलामार्फत ग्रामीण उद्यमीहरूले आफ्ना उत्पादनहरूको प्रदर्शनी तथा बिक्री गर्न सक्नेछन्, जसले उनीहरूको बजार पहुँच विस्तार गर्न र आर्थिक सशक्तीकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।पश्चिम बङ्गालका विभिन्न स्थानहरूका साथै देशका अन्य भागहरूमा समेत सरस मेला आयोजना हुँदै आएको छ। यसै क्रममा दार्जिलिङ पहाडका स्थानीय हस्तकला, परम्परागत सीप तथा यहाँका मौलिक उत्पादनहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले आगामी दिनहरूमा यस्तै प्रकारका मेला आयोजना गर्ने योजना रहेको मन्त्री दिलीप घोषले जानकारी दिएका छन्। यस्ता मेलाले स्थानीय उत्पादनको पहिचान स्थापित गर्नुका साथै ग्रामीण कारीगर तथा उद्यमीहरूलाई नयाँ बजारसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
दार्जिलिङको प्रतिष्ठित चौरस्ता परिसरमा नवौँ दार्जिलिङ सरस मेला २०२६ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। आगामी ६ नोभेम्बरसम्म सञ्चालन हुने भएको छ। पश्चिम बङ्गाल राज्य ग्रामीण जीविकोपार्जन अभियानद्वारा पञ्चायत तथा ग्रामीण विकास विभागको तत्वावधानमा आयोजित उक्त उद्घाटन समारोहमा दार्जिलिङका विधायक नोमन राई, खरसाङका विधायक सोनाम लामा र कालेबुङका विधायक भरत छेत्रीका साथै जीटीएका मुख्य सचिव एवं प्रशासक स्मृतिरञ्जन मोहन्ती, दार्जिलिङका जिल्लापाल हरिशङ्कर पाणिकर लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
मेलामा पश्चिम बङ्गालका सबै जिल्लाका साथै देशका अन्य १२ राज्यका हस्तकला कारीगर, उद्यमी तथा स्वयं सहायता समूहका सदस्यहरूको सहभागिता रहेको छ। मेलामा लगभग ३४० वटा स्टलहरु राखिएका छन्, जहाँ ग्रामीण उत्पादन तथा परम्परागत हस्तकलाका सामग्रीहरू प्रदर्शनी एवं बिक्रीका लागि उपलब्ध छन्।
यसका साथै मेलामा दार्जिलिङ तथा सहभागी जिल्लाहरूका विभिन्न स्थानीय परिकार र क्षेत्रीय खानाका स्वाद लिन सकिने विशेष फुड कोर्टको व्यवस्था गरिएको छ। मेलालाई थप आकर्षक बनाउन परम्परागत सङ्गीत, लोकनृत्य तथा विभिन्न राज्यको सांस्कृतिक पहिचान झल्काउने सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिनेछन्।

सरस मेलाको मुख्य उद्देश्य ग्रामीण क्षेत्रका कारीगर, उद्यमी तथा स्वयं सहायता समूहमा आबद्ध सदस्यहरूलाई बजारसम्म प्रत्यक्ष पहुँच प्रदान गर्नु, परम्परागत हस्तकला र सीपको संरक्षण गर्नु तथा ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउनु रहेको छ।
यस मेलाले ग्रामीण महिलाहरू तथा साना उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रचारप्रसार र बिक्रीवितरणका लागि राष्ट्रियस्तरको मञ्च उपलब्ध गराउनुका साथै उनीहरूको जीविकोपार्जनका अवसर विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।





