एशियाई च्याम्पियन्स ट्रफीमा ठूलो जीतको साथ अभियान शुरु गऱ्यो भारतले

IMG-20261028-WA0054

जालन्धर: पाँचपल्टको च्याम्पियन भारतले मनदीप सिंहको ह्याट्रिकको सहायताले एशियाई च्याम्पियन्स ट्रफी (एसीटी) हकी टुर्नामेण्टमा आफ्नो अभियानको प्रभावशाली शुरुवात गर्दै एकतर्फी म्याचमा बंग्लादेशलाई १३-०-ले पराजित गऱ्यो। म्याचमा आयोजक भारतले आफ्नो छिमेकी देशमाथि कुनै दया-माया देखाएन। मनदीपले तेस्रो, दशौं र ५४औं मिनटमा गोल गरे। यसरी कप्तान हरमनप्रीत सिंह (दोस्रो र ४४औं मिनट), दिलप्रीत सिंह (४३औं र ४४औं मिनट) र उपकप्तान हार्दिक सिंह (६०औं मिनटमा २ गोल)-ले पनि २-२ गोल गरे। यसबाहेक शिलानन्द लाकड़ा (१५औं), अभिषेक (१८औं), नीलकान्त शर्मा (२६औं) र जुगराज सिंह (४६औं मिनट)-ले पनि गोल गरी भारतको ठूलो जीतमा योगदान दिए। ओलम्पियन सुरजीत सिंह हकी स्टेडियममा खेलिएको म्याचमा गत च्याम्पियन भारतले शुरुदेखि नै आफ्नो वर्चस्व कायम गऱ्यो। खेल अधिकांश नै बंग्लादेशको हाफमा भयो अनि भारतीय खेलाड़ीहरूले लगातार आक्रमण गरी गोलको वर्षा गरे। पाकिस्तानले भारत आउन अस्वीकार गर्दा टुर्नामेण्टमा खेल्ने मौका पाउने बंग्लादेशलाई पूरा म्याचको अवधि केवल डिफेन्स सम्हाल्नमा व्यस्त देखियो। शुरुदेखि नै चरम आक्रामक हकी खेल्दै भारतले एकपछि अर्को गरी जम्मा १३ वटा गोल गऱ्यो। हालै सम्पन्न एशियाई खेलहरूमा स्वर्ण पदक जितेर लस एञ्जिलिस ओलम्पिकको निम्ति सीधै क्वालीफाई गर्ने भारतीय टोलीले आत्मविश्वासको साथ खेल्दै घरेलु दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गऱ्यो। पहिलो म्याचमा एकतर्फी जीतपछि भारतले अघिल्लो म्याचमा चीनको चुनौती स्वीकार्नेछ। म्याच बिहीवार खेलिनेछ।

About Author

Advertisement