छ नदी बेसिनमा पूर्वसूचना प्रणाली विस्तार गरिने
काठमाडौँ: नेपाल सरकारले हिमताल विस्फोट र बाढीको जोखिम न्यूनीकरण गर्न चार वटा हिमतालको जलस्तर घटाउने तथा छ वटा नदी बेसिनमा पूर्वसूचना प्रणाली (अर्ली वार्निङ सिस्टम) विस्तार गर्ने योजना अघि बढाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र जल तथा मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै श्वेतपत्र सार्वजनिक गर्दै उक्त योजना सार्वजनिक गरेका हुन्।
सार्वजनिक श्वेतपत्रमा हिमतालबाट उत्पन्न हुने बाढीको जोखिम कम गर्ने, मौसम पूर्वानुमानमा सुधार ल्याउने र जोखिममा रहेका समुदायसम्म समयमै पूर्वसूचना पुर्याउनेसम्बन्धी महत्त्वाकांक्षी कार्यक्रमहरू समावेश गरिएका छन्। यसका लागि उपकरणहरूको सङ्ख्या बढाउनेदेखि मौसम पूर्वानुमानमा आधुनिक प्रविधिको प्रयोग गर्नेसम्मका योजना तय गरिएका छन्। यद्यपि, यी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि बजेटको निरन्तर उपलब्धता, दक्ष जनशक्तिको व्यवस्थापन र उपकरणहरूको नियमित मर्मतसम्भारलाई प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ।
हिमतालसँग सम्बन्धित जोखिम न्यूनीकरणका लागि अघि सारिएको ‘ग्लोफ सञ्जीवनी’ परियोजनाअन्तर्गत मनाङको ठुलागी, सङ्खुवासभाको तल्लो बरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होंगु २ गरी चार हिमतालको पानीको सतह घटाउने योजना रहेको छ।
हिमताल फुटेर अचानक आउने बाढीले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदाय, भौतिक पूर्वाधार तथा जलविद्युत् आयोजनाहरूमा गम्भीर क्षति पुर्याउने भएकाले सरकारले यस प्रकारको पूर्वतयारी र जोखिम न्यूनीकरण रणनीति अपनाएको हो।





