क्राइस्टचर्च: विश्व च्याम्पियन भारतले बिहीवार क्राइस्टचर्चको हेग्ले ओवलमा खेलिएको म्याचमा आयोजक न्यूजील्याण्डलाई ४ विकेटले पराजित गरी इतिहास रच्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले २० ओभरमा ४ विकेट गुमाएर २२५ रनको विशाल स्कोर बनायो। जवाफमा भारतले २ बल बाँकी रहँदै ६ विकेटमा २३० रन बनाएर म्याच जित्यो। यो भारतको टी२० अन्तर्राष्ट्रिय प्रारूपमा सबैभन्दा सफल रन चेज (लक्ष्यलाई हासिल गर्नु) हो। यसअघि भारतले न्यूजील्याण्डविरुद्ध नै २०२६-मा रायपुरमा खेलिएको म्याचमा २०९ रनको लक्ष्यलाई सफलतापूर्वक हासिल गरेको थियो। यसरी २०२३-मा अष्ट्रेलियाविरुद्ध पनि भारतले विशाखापत्तनममा २०९ रनको लक्ष्यलाई हासिल गरेको थियो। समग्रमा टी२० अन्तर्राष्ट्रियमा सबैभन्दा सफल रन चेजको रेकर्ड दक्षिण अफ्रिकाको नाममा रहेको छ, जसले २०२३-मा वेष्ट इण्डिजविरुद्ध २५९ रनको लक्ष्य सफलतापूर्वक हासिल गरेको थियो। आज भारतको ऐतिहासिक जीतमा सञ्जु सेमसनको महत्त्वपूर्ण भूमिका रह्यो, जसले ३३ बलमा ८ वटा चौका र ४ वटा चौकाको सहायताले सर्वाधिक ६७ रन बनाए। उनलाई प्लेयर अफ द म्याच चयन गरियो। उनले साथी ओपनर अभिषेक शर्मा (२९ रन)-सँग पहिलो विकेटको निम्ति ३५ बलमा ९३ रनको साझेदारी गरे। अभिषेकले १२ बल खेलेर ३ वटा छक्का र २ वटा चौका लगाए। भारतले पछिबाट अभिषेक, सेमसन, तिलक वर्मा र ईशान किशनको विकेट लगातार अन्तरालमा गुमायो। तिलक ६ र ईशान १ रन बनाएर आउट हुँदा एक समय भारतको स्कोर ४ विकेटमा १२२ रन रहेको थियो। त्यहाँबाट कप्तान श्रेयस अय्यरले पहिला अक्षर पटेल (२४ रन)-सँग पाँचौं विकेटको निम्ति ४५ रन अनि पछिबाट नमन धीर (अविजित ४२ रन)-सँग छैटौं विकेटको निम्ति ४३ रनको ससाना तर महत्त्वपूर्ण साझेदारी गरी स्थिति सम्हाले। श्रेयसले २ वटा छक्का र एउटा चौकाको सहायताले २८ बलमा ४२ रन बनाए। श्रेयस १९औं ओभरमा आउट भएपछि नमन धीरले नितिश कुमार रेड्डी (अविजित २ रन)-सँग मिलेर भारतलाई रोमाञ्चक जीत दिलाए। धीरले १५ बलको सामना गरी ५ वटा चौका र २ वटा छक्का लगाए। न्यूजील्याण्डका बलरहरूमा माइकल ब्रेसवेल र कप्तान मिचेल सेण्टनरले २-२ विकेट लिए। यसअघि म्याचमा पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डको तर्फबाट ग्लेन फिलिप्सले अविजित ८२ रनको विध्वंसी ईनिंग्स खेले। उनले ४० बल खेलेर ८ वटा चौका र ३ वटा छक्का लगाए। यसबाहेक फिन एलनले ४५, बेभोन जेकब्सले ३१ र टिम साइफर्टले २४ रनको योगदान दिए। एलनले २४ बल खेलेर ५ वटा चौका र २ वटा छक्का लगाए। यसरी जेकब्सले १६ बलको सामना गरी ३ वटा छक्का लगाए। भारतीय बलरहरूमा अर्शदीप सिंह, मयंक यादव र अक्षर पटेलले १-१ विकेट हासिल गरे।





