गान्तोक। सुन्दा विश्वास गर्न गाह्रौ पर्छ, तर कुरा साँचो हो। वलिवुडका सुपरस्टार अभिनेता रितिक रोशनलाई साल्सा नृत्य सिकाउने सिक्किमका छोरा केटी नामग्याल हुन्। यस कुराको पुष्टी स्वयं नामग्यालकी आमा तेञ्जिङ डोलकरले गरेकी छन्। यसबाट प्रमाणित हुन्छ की
सिक्किम राज्यमा प्रतिभाहरूको कुनै कमी छैन्। राज्यका कलाकारहरू राष्ट्रीयस्तरमा मात्र नभएर अन्तराष्ट्रीयस्तरमा नै पुगिसकेका छन्। यसको उदाहरणकोरूपमा गान्तोक निवासी केटी नामग्याललाई लिन सकिन्छ। वर्ष १९७९मा जन्मेका केटी नामग्याललाई आगामी २४-२९ अगस्तसम्म अमेरिकाको फ्लोरिडामा आयोजना हुने वल्ड साल्सा समिटमा निर्णायक मण्डलीमा सामेल गरिएको छ। उनी सानैदेखि नृत्यमा चासो राखेको कुरा उनकी आमा तेञ्जिङ डोलकर बताउँछिन्। उनी सानै हुँदा बाबु बी. छिरिङको देहान्त भएको र आफू एक्लैले छोराको हेरचाह गर्दै आइरहेको उनको भनाइ रहेको छ। उनले पाँचौ कक्षाको शिक्षा कालेबुङको सेन्ट अगस्टिनबाट लिएका थिए भने त्यसपछि आठौं श्रेणीसम्म उत्तरखण्डको मसुरीबाट शिक्षा आर्जन गरेका हुन्।नवौश्रेणीदेखि उताको शिक्षा दिल्ली मोडल स्कूलबाट ग्रहण गरेको उनकी आमा बताउँछिन्। कलेज सकेपछि इटालीमा गएर उनले साल्सा नृत्य सिकेका हुन्। जापानमा साल्सा नृत्यको कोर्स पुरा गरेपछि नामग्यालले मुम्बई र दिल्लीमा साल्सा नृत्य सेन्टर स्थापना गरेको र त्यहाँ बलिवुडका धेरै कलाकारहरूले साल्सा नृत्यको प्रशिक्षण लिएको आमा डोल्करले पुष्टी गरेकी छन्। उनको कलालाई सम्मान गर्दै पूर्व राज्यपालले वर्ष २०१० नै सम्वर्धना जनाइसकेको उनको भनाइ रहेको छ। हाल जर्मनीमा बसोबासो गर्दै आइरहेका साल्सा नृत्य प्रशिक्षक नामग्याललाई आगामी २४ अगस्तदेखि २९ अगस्तसम्म युएसएको फ्लोरिडामा आयोजना हुने वल्ड साल्सा समिटको निम्ति उनलाई निर्याणक मण्डलीमा सामेल गरिएको जानकारी गराइन। नामग्यालले देशको विभिन्न राज्यमा साल्सा नृत्यमाथि प्रशिक्षण दिइसकेका छन्। उनको यो अदभुत कलालाई लिएर देशको विभिन्न क्षेत्रबाट प्रकाशित प्रतिष्ठित मेगाजिन समेतले उनकोबारेमा लेख प्रकाशित गरिसकेको छ। तर सिक्किम राज्यका धेरै मानिसहरू अझसम्म पनि उनकोबारेमा अनभिज्ञ रहेका छन्। उनले सिक्किम मात्र नभइ देशलाई नै चिनाउने काम गर्दै सिक्किमका मानिसहरूलाई गौरावन्तित तुल्याएका छन्। साल्सा नृत्यका पारखी नामग्याल वास्तवमा नै सिक्किम राज्यको निम्ति एक रत्न रहेको उनका शुभचिन्तकहरूको भनाइ रहेको छ।