खरसाङ: महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटार चियाबारीको गुम्बाडाँडास्थित देवकोटा युथ क्लबको आयोजनामा भईरहेको दुर्गा पूजा हवनसितै समापन गरिएको छ। गत १० अक्टोबरको दिन महालय र ११ अक्टोबरमा घटस्थापनामा मूर्ति स्थापना गरेर थालिएको दश दिवसीय दुर्गा पूजाको मंगलवार समापन भएको छ। यस अन्तर्गत १२ अक्टोबरको दिन नौ देवीको पूजा र लगातार रुपमा दुर्गा पूजा शयोजना गरिएको थियो भने गत १७ अक्टोबरको दिन सांस्कृतिक फुलपाती शोभायात्रा आयोजना गरिएको थियो। १८ अक्टोबरको दिन पूजा र १९ अक्टोबरमा पूजा र २० अक्टोबरमा हवन गरेर समापन गरिएको छ भने २१ अक्टोबरमा मूर्ति विसर्जन गरिने भएको छ। यस दुर्गा पूजामा पण्डित मुक्तिनाथ ढकालले पूजा अर्चना गरेका थिए। समापनको दिन मंगलबार वरिष्ठ नागरिकहरुलाई सम्मान जनाइएको थियो भने पूजामा विभिन्न पक्षबाट सहयोग गर्ने सबैलाई धन्यवाद स्वरुप सम्मान जनाइएको थियो। यस क्रममा १२-१३ जनालाई सम्मान जनाइएको थियो। यसको साथै मंगलवार साँझ नानीहरुलाई लिएर नृत्य प्रतियोगिता पनि आयोजना गरिएको छ। यसपाली सिविटारको गुम्बाडाँडास्थित देवकोटा युथ क्लबको आयोजनामा भईरहेको दुर्गा पूजामा सरकारबाट पञ्जीकृत संस्थाहरुलाई प्रदान गरिने अनुदान पनि प्राप्त भएको छ जुन सिविटार क्षेत्रमा नृ प्रथम मानिएको छ। यस दुर्गा पूजामा सरकारी नियमहरुलाई पालन गर्दै विभिन्न सचेतनामूलक पोष्टरहरु र सचेतनामूलक अभियान पनि सञ्चालन गरिएको थियो। यस अवसरमा विशेष गरेर ‘बेटी बचाऊ, बेटी पढाऊ’ नाराको साथमा छोरी नानीसित सेल्फी खिच्ने स्थान पनि बनाइएको थियो। यसको साथै आँगनवाडीकर्मी र आशाकर्मीद्वारा १४ वर्षसम्मका नानीहरुका लागि एचबीभी भ्याक्सिन लगाउनु पर्ने आवश्यकतामाथि पनि सचेतना गराइएको थियो। त्यसरी नै अन्य विभिन्न विषयहरुमा पनि सचेतना अभियान चलाइएको जानकारी प्राप्त भएको छ। उल्लेखनीय छ, सिविटारको देवकोटा युथ क्लबको स्थापना सन् १९७६ मा भएको थियो भने यसपाली यस क्लबले ५० वर्ष पुगेको अवसरमा स्वर्ण जयन्ती समारोह मनाउने भएको छ। यहाँ आयोजित श्री नवदुर्गा भवानी दुर्गा पूजाको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सदस्य राजीव तामाङ र प्रबिना छेत्री साथै कोषाध्यक्षा रजनी सुब्बा प्रधानले यस पूजामा विभिन्न पक्षबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।





