एमएलए कप इन्टर वार्ड फुटबल टुर्नामेन्टको उपाधि वार्ड नम्बर १० ले जित्न सफल

48a57fee-2664-4814-9ae8-202a65055864

खरसाङमा स्टेडियम निर्माण गर्न पहल भईरहेको छ: विधायक सोनाम लामा

खरसाङ: वार्ड स्तरीय एमएलए कप फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर १० ले जितेको छ। गत ९ अक्टोबरदेखि खरसाङ नगरपालिका अन्तर्गत एकदेखि बीस नम्बर वार्डसम्मलाई लिएर हिल फुटबल एकाडेमीको आयोजनामा खरसाङको मन्टिभियट खेल मैदानमा भईरहेको अन्तर वार्ड एमएलए फुटबल टुर्नामेन्टको फाइनल खेल सोमवार वार्ड नम्बर १० र वार्ड नम्बर ५ माझ सम्पन्न भएको थियो‌। यस फाइनल खेल शुरु भएको दुई मिनटमा वार्ड नम्बर १० को तर्फबाट जर्सी नम्बर ४ नवाङ बलले गोल गरेर बढा बनाएका थिए।

यसको साथै नै पहिलो हाफमा नै वार्ड नम्बर १० को तर्फबाट जर्सी नम्बर ५ छिरिङ गोले, जर्सी नम्बर नर्बु लामाले गोल गरेर ३-० को बढत बनाएका थिए। दोस्रो हाफमा पनि वार्ड नम्बर १० को तर्फबाट जर्सी नम्बर १२ नितेस प्रधान अनि जर्सी नम्बर ४ नवाङ बलले अन्तिम समयमा अर्को गोल गरेर जम्मा गोल ५ पुराएका थिए भने वार्ड नम्बर ५ को तर्फबाट एक मात्र गोल जर्सी नम्बर १० प्रज्वल गजमेरले गरेका थिए। उक्त फाइनल खेलमा वार्ड नम्बर १० ले ५-१ को अन्तरले खेल जितेर एमएलए कप इन्टर वार्ड फुटबल टुर्नामेन्टको उपाधि जितेर ट्रफीसहित नगदराशि पचास हजार रुपियाँ जितेको छ। यस फाइनल खेलमा मुख्य अतिथिको रुपमा राज्यका पर्यटन मन्त्री शंकर घोष उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा खरसाङका विधायक सोनाम लामा, खरसाङ महकुमा शासक पेमा शेर्पा, खरसाङ महकुमा पुलिस अधिकारी, आरबी लामा, बिनय प्रसाद, रमेश अग्रवाल, खरसाङ महकुमा खेलकूद संघको मोहन योञ्जन, दावा गोले, टीटी लामा, सुमेन्द्र प्रधान, रेशमा गुरुङ, रामकृष्ण शर्मा शरण देवान, लगायत अन्यहरु उपस्थित रहेका थिए। यस फाइनल खेल अघि एमएलए सेभेन र अल स्टार सेभेनमाझ प्रदर्शनी खेल सम्पन्न भएको थियो जसमा दुवै दलले ३-३ गोल‌ गरेर खेल बराबरीमा समाप्त भएको थियो। उक्त खेलमा भारतका राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरुले पनि सहभागिता जनाएका थिए। यस खेलमा भारतीय राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्री, पूर्व राष्ट्रिय खेलाडीहरु निर्मल छेत्री, नगेन तामाङ, जितेन राई लगायत अन्तर्राष्ट्रिय खेलाडीहरुले म्याच खेलेका थिए भने खरसाङका विधायक सोनाम लामाले‌ पनि भाग लिएका‌ थिए। यस एमएलए कप इन्टर वार्ड फुटबल टुर्नामेन्टको फाइनलमा म्यान अफ् द म्याच वार्ड नम्बर १० को खेलाडी नवाङ बल चयन भए भने म्यान अफम द टुर्नामेन्ट वार्ड नम्बर ५ का प्रज्वल गजमेर चयन भएका छन्।

त्यसरी नै वेस्ट गोल किपरको रुपमा वार्ड नम्बर १० को अभिषेक ठटाल र सर्वाधिक गोलदाताको रुपमा वार्ड नम्बर १० को खेलाडी नर्बु लामा चयन भएका छन्। यस फाइनल खेललाई मनोज छेत्रीले सञ्चालन गरेका थिए। धन्यवाद ज्ञापन एमएलए कप फुटबल प्रतियोगिताको मुख्य संयोजक बिक्रम गोलेले राखेका थिए। यस फाइनल खेलमा आयोजक समितिको सभापति फुर्बा घिसिङ पनि उपस्थित रहेका थिए। यस एमएलए कप इन्टर वार्ड फुटबल टुर्नामेन्ट विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङका विधायक सोनाम लामाले स्थानीय खेलाडीहरुलाई संरक्षण र मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको र आगामी दिनमा खरसाङ विधानसभा समष्टिलाई लिएर पनि आयोजना गरिने जानकारी गराएका छन्। उनले खरसाङमा एउटा राम्रो खेल मैदान र स्टेडियम निर्माण गर्न पनि पहल भईरहेको जानकारी गराएका छन्। पत्रकारहरुलाई सम्बोधन गर्दै आयोजक समितिको संयोजक, हिल फुटबल एकाडेमीको निर्देशक एंव पूर्व राष्ट्रिय फुटबल खेलाडी नगेन तामाङले सबैलाई धन्यवाद दिएका छन्।

About Author

Advertisement