सिक्किमकी तिला रुपा सापकोटालाई ‘उस्ताद बिस्मिल्लाह खान युवा पुरस्कार’

Screenshot_20261019_202050_Facebook

​नयाँ दिल्ली: सिक्किमकी प्रसिद्ध रङ्गकर्मी तथा राष्ट्रिय नाट्य विद्यालय (एनएसडी) की स्नातक तिला रुपा सापकोटालाई नाट्य तथा अभिनय क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै संगीत नाटक एकेडेमीले सन् २०२४–२५ को ‘उस्ताद बिस्मिल्लाह खान युवा पुरस्कार’ प्रदान गरेको छ।
​नयाँ दिल्लीस्थित ललित कला एकेडेमीमा आयोजित विशेष समारोहमा भारतका केन्द्रीय संस्कृति मन्त्री गजेन्द्रसिंह शेखावतले सापकोटालाई उक्त प्रतिष्ठित पुरस्कार हस्तान्तरण गरे।
​ग्याङटोकमा जन्मिएकी सापकोटा विगत १५ वर्षदेखि रङ्गमञ्चमा सक्रिय छिन्। उनले हालसम्म ४० भन्दा बढी नाटकहरूमा अभिनय गरिसकेकी छन्। एक दशकभन्दा बढी समय ‘एनएसडी सिक्किम रेपर्टरी कम्पनी’सँग जोडिएर काम गरेकी उनले ‘अन्धा युग’, ‘आधे अधुरे’ र ‘द चेरी ओर्चार्ड’ जस्ता चर्चित नाटकहरूमा उत्कृष्ट अभिनय प्रस्तुत गरिसकेकी छन्।
​सापकोटाको यो उपलब्धिले सिक्किमको रङ्गमञ्च क्षेत्रलाई राष्ट्रिय स्तरमा विशेष पहिचान दिलाउनुका साथै भारतीय मञ्च कलामा राज्यको योगदानलाई उच्च सम्मान दिएको छ।

About Author

Advertisement