सिक्किमकी दिलु तामाङलाई उस्ताद बिस्मिल्लाह खान युवा पुरस्कार २०२४

Screenshot_20261019_195002_Facebook

​नयाँ दिल्ली: सिक्किमकी प्रसिद्ध लोकनृत्य प्रस्तोता तथा कोरियोग्राफर दिलु तामाङलाई भारत सरकारको संस्कृति मन्त्रालयअन्तर्गतको संगीत नाटक एकेडेमीले प्रतिष्ठित ‘उस्ताद बिस्मिल्लाह खान युवा पुरस्कार २०२४’ प्रदान गरेको छ।
​नयाँ दिल्लीस्थित ललित कला एकेडेमीमा आयोजित विशेष समारोहमा भारतका केन्द्रीय संस्कृति मन्त्री गजेन्द्रसिंह शेखावतले तामाङलाई लोकनृत्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त पुरस्कार हस्तान्तरण गरे।
​‘दिलकुमारी तामाङ’का नामले समेत परिचित उनी सिक्किमको तादोङ निवासी हुन्। विगत २० वर्षभन्दा बढी समयदेखि उनी मारुनी, घाटु र तामाङ सेलोजस्ता परम्परागत लोकनृत्यको संरक्षण, प्रवर्द्धन र विकासमा निरन्तर सक्रिय छिन्।
​डायनामिक फ्लिकर्स डान्स एकेडेमीकी निर्देशक तथा च्याम्पियन टोली ‘गोल्डेन फिट सिक्किम’की कोरियोग्राफर तामाङले नयाँ पुस्तालाई नृत्य सिकाउँदै सांस्कृतिक धरोहर जोगाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएकी छन्।
​यसअघि उनले सन् २०२३ मा ‘नृत्य सेवा श्री सम्मान’ तथा सन् २०२२ मा ‘राष्ट्रिय जनजाति नृत्य महोत्सव’मा विशेष पहिचान प्राप्त गरिसकेकी छन्। साथै, सन् २०२५ मा जापानको ओसाकामा आयोजित ‘विश्व एक्सपो’मा उनले भारतको तर्फबाट प्रतिनिधित्व गरेकी थिइन्।
​सिक्किमको समृद्ध सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्न सफल दिलु तामाङको यो उपलब्धिले सिङ्गो सिक्किम राज्यकै गौरव बढाएको छ।

About Author

Advertisement