तीनधारेमा सांस्कृतिक फूलपाती शोभायात्रा र लोक नृत्य प्रतियोगिता सम्पन्न

804db89c-136b-4a2c-aaf1-17cd2d7dffa6

खरसाङ: फूलपाती शोभायात्रा समारोह समितिको आयोजनामा तीनधारेमा सांस्कृतिक फूलपाती शोभायात्राको साथमा झाँकी प्रदर्शनी र लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ। उक्त सांस्कृतिक फुलपाती शोभायात्रा तीनधारेको गोलाई पाखास्थित पर्यटकीय स्थल ‘वी लभ तीनधारे’ बाट शुरु भएर राष्ट्रिय राजमार्ग ११० हुँदै तीनधारे बजार, राजबारी हुँदै बीस माइलस्थित स्मृति वन परिसरसम्म पुगेर सांस्कृतिक लोक नृत्य प्रतियोगिता कार्यक्रममा परिणत भएको थियो। यस कार्यक्रमको अध्यक्षता फूलपाती सांस्कृतिक शोभायात्रा समारोह समितिको सभापति सुरेन बम्जनको अध्यक्षतामा र प्रमुख अतिथिको रुपमा ब्लु डायमण्ड अंग्रेजी स्कूल घैयाबारीका संस्थापक बीबी थापा उपस्थित रहेका थिए। सुकुमार बराईली, सन्तोष लामा र युवराज सुन्दासले सञ्चालन गरेका थिए।

सांस्कृतिक फूलपाती शोभायात्रामा तीनधारे र वरिपरिका विभिन्न संघ संस्थाहरुले झाँकीहरु प्रदर्शन गरेका थिए जुन प्रतियोगिताको रुपमा रहेको थियो। यस झाँकी प्रदर्शनी प्रतियोगिताको रुपमा रहेको थियो जसमा निर्णायकको रुपमा नेपालबाट आएका अतिथिद्वय लिलानाथ खतिवडा र दिपक रायमाझी रहेका थिए। उक्त झाँकी प्रदर्शनी प्रतियोगितामा प्रथम पनिता ट्युशन ग्रुप गैरी गाउँ, दोस्रो जनकल्याण संघ दुई नम्बर बस्ती र तेस्रो प्रगति संघ मिठाईडाँडा भएका छन्। त्यसरी नै लोक नृत्य प्रतियोगितामा प्रथम ग्राम कल्याण समिति नयाँ कमान, दोस्रो जनकल्याण संघ दुई नम्बर बस्ती, तेस्रो प्रगति संघ मिठाईडाँडा भएका छन्। यस लोक नृत्य प्रतियोगितामा निर्णायकको रुपमा अरुणा छेत्री सुन्दास र रमिना प्रधान रहेका थिए।

तीनधारेमा आयोजित साँस्कृतिक फूलपाती शोभायात्रा र लोक नृत्य प्रतियोगितामा जम्मा १३ वटा संघ संस्थाहरुले सहभागिता जनाएका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन सुप्रेम छेत्रीले राखेका थिए। तीनधारेमा आयोजित साँस्कृतिक फूलपाती शोभायात्रा, झाँकी प्रदर्शनी प्रतियोगिता र लोक नृत्य प्रतियोगिता विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आयोजक समितिको तर्फबाट युवराज सुन्दासले यस फूलपाती शोभायात्रा समारोह समारोहमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

About Author

Advertisement