खरसाङ: वर्तमान समाजमा बढ्दै गइरहेको समस्या र यसको उपचारका लागि अहिले बजारमा अंग्रेजी पुस्तक ‘टु हुम इट मे कन्सर्न’ (‘To Whom it May Concern’) आइपुगेको छl यसका लेखिका हुन् खरसाङ बजारदेखि करिब ८ किलोमिटर टाडो सिपाहीधुरा बजार निवासी नेहा थापाl नेहाको यो पहिलो पुस्तक उनका बाबु राजेश कुमार थापाले प्रकाशित गरेका हुन्l इन्सपेरिया नलेज क्याम्पस, सिलगढीमा नेहा थापा फ्याकल्टी एसोसिएट हुन्l समाजमा बढ्दै गएको नजरअन्दाज गरिएका समस्यालाई नेहाले यस पुस्तकमा उजागर गरेर सबैलाई झक्झक्याउने कार्य गरेकी छिन्l उनले समस्या मात्र उजागर गरेकी छैनन्, उपचार पनि बताएकी छिन्l

भनिन्छ बिहे सात जन्मको पवित्र कसिलो बन्धन होl संसारलाई गतिशील बनाउन, मानव समाजलाई विस्तार गर्ने क्रमका लागि बिहेको महत्त्वले धेरै ठूलो प्रमुखता राख्दछl अहिलेको अत्याधुनिक युगमा विकासले जुन किसिमको फड्को मारिरहेको छ, त्यसले समाजमा कयौं किसिमका विसङ्गतिहरु भित्रिँदै गइरहेका छन्l यस्तै भित्रिएका कतिपय विसङ्गतिहरुका कारण बिहेको पवित्र बन्धनमाथि असर पर्दै गइरहेका छन्l जसको असरले बिहेको त्यो सात फेरोको पवित्र कसिलो बन्धनलाई लचिलो पारेर चुँडाइरहेको छl बिहेको पवित्र बन्धनको मूल्यलाई नजरअन्दाज गर्ने गरेको देखिन्छl धेरै यस्ता जोडीहरु देखिन्छन् जो यस बन्धनबाट मुक्त बनेर जिउने अथवा अर्को नयाँ बन्धनमा बाँधिन बाध्य हुन्छन्। फलस्वरुप यसको परिणाम बढ्दै गएको पारपाचुके अर्थात सम्बन्ध विच्छेदको आँकडा भयानक देखिन्छ। यसको नकारात्मक असर यस्ता जोडीबाट जन्मिएका नानीहरु र ती दुवै परिवारमा देखिन्छl एकातिर विभाजित परिवार (ब्रोकन फेमिली) भनिन्छ अनि अर्कोतिर ती नानीहरुलाई ब्रोकन फेमिलीका नानी भनिन्छ, अहिले समाजको अघि देखा परेको यो तितो सत्य होl यस्ता सम्बन्ध विच्छेदका घटनाहरु एक ठाउँमा मात्र होइन विभिन्न ठाउँ, प्रान्तहरुमा देखिने, सुनिने गरिन्छl
प्रस्तुत पुस्तकमा लेखिकाले सरल भाषा र शैलीमा वैवाहिक बन्धनलाई बलियो बनाउने र सुन्दर घरपरिवारको संरचना गर्ने उपायहरू बताएकी छिन्। घरदेखि संसारलाई नै सुन्दर र शान्त बनाउने एउटा सेल्फ हेल्प गाइडको रुपमा यस पुस्तकलाई लिन सकिन्छ।











