खरसाङ: कुनै कुतत्वहरुले आफ्नो स्वार्थको लागि सांसद राजु विष्ट र विधायक सोनाम लामालाई कटाक्ष गर्दै अडियो भाइरल गर्नु सरासर गलत र निन्दनीय रहेको भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला समितिको कानुनी सल्लाहकार एवं वरिष्ठ अधिवक्ता रमेश अग्रवालले बताएका छन्। उनले सामाजिक सञ्जालमा सांसद र विधायकमाथि कटाक्ष गर्दै भाइरल अडियो विषयमा खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै भने, ‘हाम्रो सांसद राजु विष्टको कार्य शैली र जुन किसिमले काम गरिरहेका छन् त्यसको बदनाम गर्न खोजिएको हो जसलाई हामी विश्वास गर्न सक्दैनौं। सांसद राजु विष्टले विकास साथै गोर्खाहरुको लागि राजनीतिक सामाधानको लागि लगातार रुपमा कार्य गरिरहेका छन्। यसलाई पचाउनु नसकेर झुटो आरोप लगाएर उनको लोकप्रियतालाई लिएर साथै पार्टीलाई बदनमा गर्ने प्रचेष्टा हो। यसमा ठूलो साजेस हुन सक्छ।’ उनले यस घटनालाई लिएर सांसद राजु विष्टले दार्जिलिङ पुलिस अधीक्षकसित कुरा गरेको र विधायकले खरसाङ पुलिस थानामा एफआईआर दर्ता गराएको जानकारी गराएका छन्। उनले यस घटनामा आधारित एकजनालाई मिरिक पुलिसले पक्राउ गरेको पनि जानकारी गराएका छन्। भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला कानुनी सल्लाहकार रमेश अग्रवालले यस घटनामा जाँच हुनु पर्ने र जाँचपछि आरोपीलाई कडा कानुनी कार्वाही हुनुपर्छ भनी माग गरेका छन्। अग्रवालले यस घटनामा डिफरमेशन केश लगाउने सांसद र विधायकलाई सुझाव दिएका छन्। उनले यस्तो घटनाले पार्टीलाई ड्यामेज नगर्ने दावी गर्दै भाजपा बहुमतको साथले सरकार बनाएको र काम गर्ने पार्टी रहेको बताएका छन्।





