तथ्याङ्कको शुद्धता र गोपनीयतामा जोड
सोरेङ: आगामी जनगणना २०२७ को दोस्रो चरणका विधि, प्रक्रिया तथा प्रमुख हितधारकहरूको भूमिकाबारे जानकारी दिने उद्देश्यले शुक्रवार सोरेङस्थित जिल्ला प्रशासनिक केन्द्र (डीएसी) को सभाहलमा एक महत्त्वपूर्ण समीक्षा एवम् अभिमुखीकरण बैठक सम्पन्न भएको छ। जनगणना सञ्चालन निर्देशक कर्मा आर. बन्पोको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला तथा प्रभारीस्तरका अधिकारीहरूलाई आगामी गणना कार्यसम्बन्धी जिम्मेवारीबारे विस्तृत जानकारी गराइयो।

बैठकलाई सम्बोधन गर्दै जनगणना निर्देशक बन्पोले जनगणना २०२७ को दोस्रो चरण सञ्चालन गर्ने कार्यविधि र तथ्याङ्क सङ्कलन प्रक्रियाबारे प्रकाश पारे। उनले घरपरिवार तथा व्यक्तिगत विवरणसँग सम्बन्धित ४० वटा निर्धारित प्रश्नहरूबारे संक्षिप्त विवरण प्रस्तुत गर्दै तथ्याङ्कको सही, विश्वसनीय र व्यवस्थित अभिलेखीकरणमा विशेष जोड दिए। “जनगणनाबाट प्राप्त तथ्याङ्कले राज्यको सामाजिक-आर्थिक अवस्थाको सही मूल्याङ्कन गर्न र भविष्यका लागि प्रभावकारी नीति निर्माण गर्न आधार तयार गर्छ,” निर्देशक बन्पोले भने, “सङ्कलन गरिने जानकारी संवेदनशील हुने भएकाले सम्पूर्ण प्रक्रियामा कडा गोपनीयता र तथ्याङ्कको सुरक्षा कायम राख्नु अनिवार्य छ।”
बैठकमा गणक (इनुमरेटर) हरूको सही छनोट, उनीहरूको कार्यसम्पादन र जिम्मेवारीप्रति गम्भीरता हुनुपर्ने विषयमा गहन छलफल गरियो। निर्देशक बन्पोले प्रभारी अधिकारीहरूलाई गणक छनोटमा विशेष सावधानी अपनाउन आग्रह गर्दै उनीहरूलाई निर्धारित प्रक्रियाहरूबारे पूर्ण परिचित गराउन छिट्टै विस्तृत तालिम सत्रहरू आयोजना गरिने जानकारी दिए। जिल्ला अधिकारी, प्रभारी, मुख्य प्रशिक्षक र गणकहरूबीच निरन्तर सञ्चार र समन्वय रहे मात्र धरातलीय यथार्थ झल्कने प्रामाणिक तथ्याङ्क प्राप्त हुन सक्ने बैठकको निष्कर्ष थियो।
उक्त बैठकमा सोरेङका जिल्लापाल (डीसी) एवम् मुख्य जनगणना अधिकारी धीरज सुवेदी, अतिरिक्त जिल्लापाल डीआर विष्ट, एसडीएम (मुख्यालय) प्रेम के. सुब्बा, सोरेङकी एसडीएम साकचुम लेप्चा लगायत विभिन्न विभागका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकले सबै तहका कर्मचारीहरूको समन्वयात्मक प्रयासबाट नै जनगणना २०२७ लाई सफल र त्रुटिरहित बनाउन सकिने प्रतिबद्धता व्यक्त गर्दै समापन भएको थियो।





