गान्ताेक: सिक्किमको जोङ्गुस्थित सङ्कलङ आउटपोष्टमा एक नयाँ सार्वजनिक शौचालय तथा वाशरूमको औपचारिक उद्घाटन गरिएको छ। जोङ्गुका विधायक तथा वन र वातावरण मन्त्री पिन्चो नामग्याल लेप्चाले उक्त निर्मित सुविधाको उद्घाटन गरेका हुन्।

स्थानीय क्षेत्रमा सरसफाइ तथा सार्वजनिक सुविधा प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘जोङ्गु राइडर्स क्लब’ को विशेष पहलमा यो शौचालय निर्माण गरिएको हो।उद्घाटन कार्यक्रममा हॉर्टिकल्चर (उद्यानपालन) विभागकी अध्यक्ष श्रीमती ओङकित लेप्चा, स्थानीय एसडिपिओ, एसएचओ लगायत अन्य प्रहरी अधिकारीहरू, जोङ्गु राइडर्स क्लबका सदस्यहरू, पञ्चायत प्रतिनिधिहरू, एमएनपी काउन्सिलर र स्थानीय गन्यमान्य व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो।सामाजिक उत्तरदायित्व र जनसेवाप्रति समर्पित ‘जोङ्गु राइडर्स क्लब’ को यो प्रयासले स्थानीय बासिन्दाका साथै सो क्षेत्रमा आवतजावत गर्ने पर्यटक तथा यात्रुहरूलाई सरसफाइ र सहजताका दृष्टिले ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।





