२९ अक्टोबरः नव मिलन परिवार, धोतरिया बालासन पुल बजारको तत्त्वावधानमा आयोजित बालासन कप फूटबल टुर्नामेण्टमा शनिवार पहिलो राउण्डको दुईवटा म्याच खेलियो। इण्टेक नजिक धोतरिया बालासन पुल बजार खेल मैदानमा आज भएको पहिलो म्याचमा सीडर्स एफसी-ले सांगमा एफसी-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट रोहन राई र सौरभ राईले गोल गरे। यसरी नै दोस्रो म्याचमा गोर्खा स्पोर्टिंग क्लब (जीएससी), नागरीले जुम्ला स्पोर्टिंगलाई ४-३-ले पराजित गऱ्यो। विजेता टीमबाट वांगदेन तामाङले ह्याट्रिक गरे। यसबाहेक डिगेन राणाले १ गोल गरे। यसरी नै जुम्ला स्पोर्टिंगबाट दिपेश भट्टराई, अदित्य राई र अनिकेत गुरुङले गोल गरे। अब आइतवार खेलिने पहिलो राउण्डको अन्तिम म्याचमा दिलाराम एफसी र मगरजुंग एफसी-बीच भिड़न्त हुनेछ।

यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा जम्मा २४ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ८ र १५ जनवरी २०२३-मा खेलिनेछ। यसरी नै फाइनल २२ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









