खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेमा संस्कृति जगेरा हेतु देउसी भैलिनी प्रतियोगिता सम्पन्न भएको छ। तीनधारे क्षेत्रका सातवटा संघ संस्थाहरूलाई समेटेर अायोजना गरिएको देउसी भैलिनी प्रतियोगिता आज अपरान्ह तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न गरिएको छ। उक्त देउसी भैलिनी प्रतियोगिता कार्यक्रम मदनकुमार प्रधानको अध्यक्षता र बिक्रम मंगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। गीतकार सुकुमार बराईलीद्वारा सञ्चालन गरिएको उक्त प्रतियोगितामा तीनधारेको सातवटा संघ संस्थाहरूले देउसी र भैलिनी प्रतियोगितामा अंश ग्रहण गरेका थिए।

यस प्रतियोगिताको निर्णायकको रूपमा सुरेन बम्जन, बरूण रसाईली, पूर्ण मास्के, कृष्णराज छेत्री आदि रहेका थिए। निर्णायकहरूको निर्णय अनुसार देउसीमा जनसेवा संघ राजबारी प्रथम, प्रगति संघ मिठाईडाँड़ा दोस्रो र ग्राम कल्याण समिति क्रिकेट बजार तेस्रो भएका छन् । त्यसरी नै भैलिनीमा प्रथम जागृति संघ तीनधारे चियाबारी, दोस्रो मित्र संघ गोलाई पाखा, तेस्रो ग्राम कल्याण समिति क्रिकेट बजार भएका छन्। नेपाली संस्कृति र चाढ बाढ विषयमा युवा पुस्तालाई जागृत र सचेत गराउन साथै संस्कृतिको जगेरा गर्न हेतु आयोजित देउसी भैलिनी प्रतियोगिता कार्यक्रम तीनधारेमा प्रथमपल्ट आयोजना गरिएको बताइएको छ। यस प्रतियोगितामा तीनधारे क्षेत्रका मानिसहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित साई समिति बंगालको राज्य सभापति बिक्रम मंगरले आफ्नो सम्बोधनमा देउसी भैलिनी प्रतियोगिता तीनधारेमा आयोजना गरेर आयोजक समितिले एउटा छुट्टै पहल गरेकोमा बधाई दिएका छन्। उनले भने, समाज र संस्कृतिको गरिमालाई बचाई राख्न गरिएको यो पहल सराहनीय छ भन्दै हाम्रो चाढ बाढको छुट्टै महत्व छ। हाम्रो संस्कृति सबैभन्दा समृध्द संस्कृति छ र यसको सम्बर्ध्दन र जगेरा गर्न आवश्यक छ। हाम्रो संस्कृतिलाई बचाई राख्न हाम्रो जिम्मेवारी हो। कुनै पनि जातिको उन्नति र उत्थानको लागि संस्कृति मुख्य हुन्छ। प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेहरूलाई कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूको बाहुलीबाट अनि आयोजक समितिको संयोजक सन्तोष लामाको बाहुलीबाट प्रदान गरिएको छ। नगदराशिसहित ट्रफी प्रदान गरिएको छ भने आजको देउसी भैलिनी प्रतियोगितामा प्रथम हुनेलाई दार्जिलिङमा सम्पन्न भईरहेको देउसी भैलिनी प्रतियोगितामा सोझै इन्ट्री पाउने भएको आयोजक समितिले जनाएका छन्।

यस प्रतियोगितामा धन्यवाद ज्ञापन रञ्जनकुमार रसाईलीले राखेका थिए। तीनधारेमा सम्पन्न देउसी भैलिनी प्रतियोगिता विषयमा पत्रकारहरूसित कुराकानी गर्दै देउसी भैलिनी प्रतियोगिता आयोजक समितिको संयोजक सन्तोष लामा र उत्तम शर्माले विस्तृत रुपमा जानकारी गराउँदै तीनधारेमा प्रथमपल्ट यस्तो प्रतियोगिता आयोजना गरिएको र यस प्रतियोगितामा तीनधारे क्षेत्रमा रहेका संघ संस्थाहरूले उत्साहपूर्ण सहभागिता जनाएको बताएका छन्। दुवैले बताए अनुसार नेपाली संस्कृति जगेरा गर्न र अहिलेको युवा पुस्ताकाहरूलाई नेपाली संस्कृति र चाढ बाढ विषयमा जानकारी गराउन साथै यस विषयमा जागरुक गराउन यस्तो कार्यक्रम आयोजना गरिएको र अब यो कार्यक्रम वार्षिक रूपमा आयोजना गरिने भएको जानकारी गराएका छन्। दुवैले यो कार्यक्रम सफल भएको बताएका छन्।









