सिलगढी: पश्चिम बङ्गाल सरकारको वित्तीय सहायता कार्यक्रम अन्तर्गत पर्यटन मन्त्री शङ्कर घोषले सिलगढी थाना क्षेत्रका विभिन्न दुर्गापूजा समितिहरूलाई जनही १ लाख रूपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ। कार्यक्रममा प्रहरी र प्रशासनले सर्वसाधारणलाई शान्तिपूर्ण रूपमा चाडपर्व मनाउन र सुरक्षा नियमहरूको पालना गर्न अपील गरेका छन्।
अर्कोतर्फ, १.५ करोड रूपैयाँ आयकर बक्यौता नबुझाएको भन्दै आयकर विभागले नक्सलबाडीस्थित ‘माँ शारदा रेजिडेन्सी रिसोर्ट’ को अचल सम्पत्ति जफतका लागि सूचना जारी गरेको छ।

यसैबीच, उचित पुनस्र्थापना बिना सुकुम्बासी र साना व्यवसायीहरूलाई हटाउन नहुने माग गर्दै तथा बन्द गरिएको फुलेश्वरी रेलवे गेट तुरुन्त खोल्न दबाब दिँदै सीपीआई(एम) ले एडीआरएम कार्यालय अगाडि विरोध प्रदर्शन गरी ज्ञापनपत्र बुझाएको छ। यसका साथै, दुर्गापूजाको अवसरमा हिन्दू स्वामित्वका पसलहरूबाट मात्र पूजाका सामग्री र बिरयानी खरिद गर्न आग्रह गर्दै हिन्दू जागरण मञ्चले टाँसेको पोस्टरले सिलगढी क्षेत्रमा निकै चर्चा पाएको छ।





