प्रधानमन्त्री मोदीको २५ वर्षे जनसेवा, सिक्किम मन्त्रिपरिषद्द्वारा बधाई तथा आभार व्यक्त

FB_IMG_1791795704018

​गान्तोक: सिक्किम सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा २५ वर्ष पूरा गरेको ऐतिहासिक अवसरमा बधाई ज्ञापन गर्दै उनको योगदानको उच्च प्रशंसा गरेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) को अध्यक्षतामा बसेको विशेष मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री मोदीको नेतृत्वदायी भूमिका, राष्ट्र निर्माणप्रतिको समर्पण र समावेशी विकासको दृष्टिकोणप्रति आभार व्यक्त गरेको हो।
​प्रधानमन्त्री मोदीले ७ अक्टोबर २००१ मा गुजरातको मुख्यमन्त्रीका रूपमा पदभार ग्रहण गरी सुरु गरेको जनसेवाको २५ वर्ष पूरा भएको सन्दर्भमा मन्त्रिपरिषद्ले शुभकामना सन्देश पारित गरेको छ।
​मन्त्रिपरिषद् बैठकपछि जारी वक्तव्य अनुसार, मोदीको २५ वर्षको सार्वजनिक सेवा जनताका आकांक्षा पूरा गर्ने, राष्ट्रिय प्रगति हासिल गर्ने र चुनौतीहरूलाई अवसरमा बदल्ने एउटा उदाहरण बनेको छ। बैठकले प्रधानमन्त्रीको ‘सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास’ को मन्त्रले समावेशी समृद्धि र जनविश्वासलाई सुदृढ बनाएको तथा ‘एक भारत, श्रेष्ठ भारत’ को अवधारणाले सांस्कृतिक एकता र विविधतालाई थप बलियो बनाएको निष्कर्ष निकालेको छ।
​विशेष गरी भारतको पूर्वोत्तर क्षेत्र (नर्थ-ईस्ट) को विकासमा प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वको सिक्किम सरकारले विशेष प्रशंसा गरेको छ। पूर्वोत्तरका आठ राज्यहरूलाई ‘अष्टलक्ष्मी’ को रूपमा चित्रण गर्दै त्यहाँको पूर्वाधार, पर्यटन, कनेक्टिभिटी र क्षेत्रीय सहयोगमा नयाँ उचाइ हासिल भएको मन्त्रिपरिषद्को ठहर छ।
​सिक्किमको विकास र समृद्धिका लागि केन्द्र सरकार र प्रधानमन्त्री मोदीले पुर्‍याएको निरन्तर सहयोगप्रति राज्य सरकारले कृतज्ञता प्रकट गरेको छ। सिक्किमको ५०औँ राज्य दिवसको समापन समारोहमा प्रधानमन्त्री मोदीको गरिमामय उपस्थितिको स्मरण गर्दै कोभिड-१९ महामारी, टिस्टा नदीको विनाशकारी बाढी, भूकम्प र पहिरोजस्ता विपद्का समयमा भारत सरकारले दिएको निःस्वार्थ सहयोगप्रति सिक्किमवासी सदैव ऋणी रहने वक्तव्यमा उल्लेख छ।
​मन्त्रिपरिषद् बैठकले हिमाली राज्य सिक्किमको विशिष्ट पहिचान, वातावरणीय सन्तुलन र विपद् व्यवस्थापनलाई ध्यानमा राख्दै दिगो विकासका लागि केन्द्रीय सहयोग अपरिहार्य रहेको औँल्याएको छ। साथै, भारत सरकारको ‘विकसित भारत@२०४७’ को राष्ट्रिय लक्ष्यलाई सफल पार्न तथा समृद्ध र आत्मनिर्भर सिक्किम निर्माणका लागि सिक्किम सरकार निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको पुनरोच्चार गरिएको छ।
​मन्त्रिपरिषद्ले प्रधानमन्त्री मोदीको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै उहाँको नेतृत्वले आगामी दिनमा पनि सिंगो भारत र पूर्वोत्तर क्षेत्रको विकासलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

About Author

Advertisement