सिलगढी: एकजना युवकलाई भक्तिनगर थाना को आशीघर आउटपोस्ट पुलिस र डि डि (डिटेक्टिभ डिपार्टमेन्ट)ले संयुक्त अभियान चलाएर छिनताईको अभियोगमा पक्राउ गरेको छ। पुलिस द्वारा पक्रा परेका युवक फाटापुकुर निवासी दुर्योधन ग्वालाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार मिनती दास नाम गरेकी एउटी महिला शुक्रबार ब्याङ्कबाट रुपियाँ लिएर टोटोमा सवार भएर ३४ नम्बर वार्ड इस्टर्न बाइपासको बुड़बुड़ी मन्दिर नजिक ओर्लिएपछि पैदल हिँडेर आफ्नो घरतर्फ गइरहेकी समय बाइकमा सवार दुईजना युवकले तिनको ब्याग थुतेर चम्पट कसेको बताइएको छ। घटनापछि महिलाले थानामा अभियोग दर्ता गरेपछि आशीघर आउटपोस्ट पुलिस र डीडी-ले गोप्य सूचनाको आधारमा संयुक्त अभियान चलाएर तीमध्ये एकजना युवकलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका युवकलाई आज जलपाईगढी अदालतमा पेश गरियो।










