पाक्याङमा ‘आत्मा’ गभर्निङ बडी र डिफ्याकको संयुक्त बैठक सम्पन्न​

FB_IMG_1791554664104

गान्ताेक: सिक्किमको पाक्याङस्थित जिल्ला प्रशासनिक केन्द्र (डीएसी) को सभाहलमा कृषि प्रविधि व्यवस्थापन एजेन्सी (‘आत्मा’) गभर्निङ बडी, व्यवस्थापन समिति र जिल्ला किसान सल्लाहकार समिति (डिफ्याक) को संयुक्त बैठक शुक्रबार सम्पन्न भएको छ।​’आत्मा’ पाक्याङको आयोजनामा भएको उक्त बैठकको अध्यक्षता पाक्याङकी जिल्लापाल एवं ‘आत्मा’ अध्यक्ष परी विश्नोईले गरेकी थिइन्।​बैठकलाई सम्बोधन गर्दै जिल्लापाल विश्नोईले राज्यका पाँचवटा उच्च मूल्ययुक्त (हाई-भ्यालु) कृषि उपज पहिचान गरी तिनको बजार पहुँच विस्तार गर्न ‘फरवर्ड लिङ्केज’ सुदृढ बनाउनुपर्नेमा जोड दिइन्। स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धनका लागि उपयुक्त प्याकेजिङ, प्रशोधन तथा बजार सुविधाको विकास आवश्यक रहेको बताउँदै उनले उपहार उद्योगमा ‘अर्किड’ (सुनाखरी) फूलको उच्च सम्भावना रहेको औँल्याइन्।​’आत्मा’ का अतिरिक्त निर्देशक एवं आयोजना निर्देशक छिरिङ छोपेल भोटियाले कृषि प्रसार सेवालाई सुदृढ बनाउन र कृषक समुदायलाई सहयोग पुर्‍याउन संस्थाको भूमिकाबारे प्रकाश पारेका थिए। त्यसैगरी, कृषि विभागकी उपनिर्देशक एवं ‘आत्मा’ पाक्याङकी उप-आयोजना निर्देशक रेबेका गुरुङले आर्थिक वर्ष २०२५–२०२६ को प्रगति विवरण प्रस्तुत गर्दै पाक्याङ जिल्लाका छ वटै ब्लकमा सञ्चालित तालिम, चेतनामूलक कार्यक्रम, किसान गोष्ठी तथा क्षमता अभिवृद्धि कार्यक्रमबारे जानकारी गराइन्।​बैठकमा कृषि विज्ञान केन्द्र (केभीके) का प्रमुख डा. प्रकाश शर्माले विशेष गरी सुख्खा क्षेत्रको खेतीप्रणालीमा वर्षात्‌को पानी सङ्कलन र जल व्यवस्थापनको महत्त्वबारे कार्यपत्र प्रस्तुत गरेका थिए।​बैठकमा पशुपालन तथा पशु चिकित्सा विभागकी अतिरिक्त निर्देशक डा. अन्जला प्रधान, उद्यान विभागकी उपनिर्देशक हिस्से छेडे भोटियालगायत कृषि, मत्स्यपालन विभागका अधिकारीहरू र जिल्ला किसान सल्लाहकार समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement