सिलगढी: दुर्गापूजाको अवसरमा पश्चिम बंगाल सरकारको सूचना तथा संस्कृति विभागले सिलिगुडीमा दुईदिने विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
राज्यका विभिन्न सात स्थानमा आयोजना हुने कार्यक्रमअन्तर्गत सिलगढीको कावाखाली मैदानमा अक्टोबर ११ र १२ मा कार्यक्रम हुने भएको हो।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, संगीत कार्यक्रमसँगै उत्तर बंगालका स्थानीय ब्यान्ड तथा कलाकारले प्रस्तुति दिनेछन्। कार्यक्रमको तयारीबारे बिहीबार सिलगढीस्थित लोक निर्माण विभागको निरीक्षण बंगलामा बैठक बसेको थियो।
बैठकमा पश्चिम बंगालका पर्यटनमन्त्री डा. शंकर घोष, सिलगढीका उपमण्डल अधिकारी, सूचना तथा संस्कृति विभागका अधिकारीलगायत प्रशासनिक अधिकारी सहभागी थिए।
पर्यटनमन्त्री डा. घोषका अनुसार अक्टोबर ११ मा गायक तीर्थ भट्टाचार्य र १२ अक्टोबरमा गायिका अन्तरा मित्राले प्रस्तुति दिनेछन्। दुवै दिन उत्तर बंगालका विभिन्न स्थानीय ब्यान्ड तथा कलाकारका सांगीतिक प्रस्तुति पनि रहनेछन्।
दुर्गापूजाको अवसरमा आयोजना हुने कार्यक्रमले स्थानीय कला, संस्कृति तथा संगीतलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।





