सिलगढी: वन्यजन्तु सप्ताह २०२६ को अवसरमा बुधबार सिलगढीस्थित बङ्गाल सफारीको नेचर इन्टरप्रोटेसन सेन्टरमा एक विशेष कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा टिस्टा नदीबाट हात्तीको छावाको सफल उद्धारमा योगदान पुर्याउने २४ जनालाई सम्मान गरिएको छ।
वाइल्डलाइफ ट्रस्ट अफ इन्डिया (डब्लुआइटी) द्वारा वैकुण्ठपुर वन विभाग र नेचर एन्ड वाइल्डलाइफ एसोसिएसन (एनडब्लुए) को सहयोगमा कार्यक्रम आयोजना गरिएको हो। डब्लुआइटीको ‘गज उत्सव’ अभियानअन्तर्गत ५ असोज २०२६ (२१ सेप्टेम्बर) मा टिस्टा नदीबाट हात्तीको छावालाई सुरक्षित उद्धार गर्न भूमिका खेल्ने २४ जनालाई ‘गजा मित्र पुरस्कार’ प्रदान गरियो।
पुरस्कृत हुनेहरूमा वन विभागका कर्मचारी, स्थानीय माझी तथा टिस्टा ब्यारेजका ढोका रक्षक (गेटकिपर) रहेका छन्। आपतकालीन अवस्थामा उनीहरूले देखाएको तत्परता, साहस र महत्त्वपूर्ण योगदानको कदर गर्दै यो सम्मान दिइएको हो।

कार्यक्रममा डिएफओ मुदित कुमार, बङ्गाल सफारीका निर्देशक ई. विजयाकुमार र एनडब्लुएका सचिव अनुजित बासुको उपस्थिति थियो।
सो अवसरमा बङ्गाल सफारीका निर्देशकले वन्यजन्तु संरक्षणका लागि वन विभाग, स्थानीय समुदाय, अग्रपङ्क्तिमा खटिने कर्मचारी र संरक्षण संस्थाहरूबीच राम्रो समन्वय हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा मानव-हात्ती द्वन्द्वसम्बन्धी एक सचेतना सत्र पनि सञ्चालन गरिएको थियो। सो क्रममा हात्तीको व्यवहार बुझ्ने, मानव-हात्ती द्वन्द्व कम गर्ने, स्थानीय समुदायको सहभागिता बढाउने र मानव-हात्ती सहअस्तित्वलाई मजबुत बनाउने विषयमा छलफल भयो।





