अदालतद्वारा ५ दिनको ट्रान्सिट रिमान्ड स्वीकृत
सिलगढी: पञ्जाबमा ६ वर्षीया बालिकामाथि भएको बलात्कारको आरोपमा पञ्जाब पुलिसले सिलिगुडीबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रधाननगर पुलिस थानाअन्तर्गतको रेगुलेटेड मार्केट क्षेत्रबाट समातिएका ४५ वर्षीय पिन्कु मण्डल रहेका छन्। उनलाई पक्राउ गरी सिलगढी अदालतमा पेश गरिएको थियो।
मूल घर बिहार भई मण्डल सिलगढीको रेगुलेटेड मार्केटमा मजदुरी गर्दै आएका थिए। पुलिस स्रोतका अनुसार अभियुक्त पञ्जाबको सालेमपुर गाउँमा बालिकाको परिवारसँगै बसेर कृषि मजदुरीको काम गर्दथे।
बालिकाका आमाबाबु काममा बाहिर गएको र बालिका घरमा एक्लै भएको मौका छोपी सो घटना गराएको पुलिस स्रोतले जनाएको छ। घटनापछि बालिकाले आफ्नी आमालाई जानकारी गराएपछि परिवारले पञ्जाब पुलिसमा उजुरी दर्ता गराएको थियो।
उजुरीपछि अनुसन्धान सुरु गरे पनि अभियुक्त सो क्षेत्रबाट फरार भएका थिए। करिब चार महिनाको खोजीपछि उनी सिलगढीको रेगुलेटेड मार्केट क्षेत्रमा बसोबास गरी काम गरिरहेको सूचना पञ्जाब पुलिसले पाएको थियो।
तत्पश्चात पञ्जाब पुलिसले सिलगढी मेट्रोपोलिटन प्रहरीसँग सम्पर्क गर्यो। बुधबार प्रधाननगर पुलिसको सहयोगमा रेगुलेटेड मार्केटमा छापा मारी मण्डललाई पक्राउ गरिएको हो।
उनलाई सिलगढी अदालतमा पेश गरी पञ्जाब लैजानका लागि पुलिसले ट्रान्सिट रिमान्डको माग गरेको थियो। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अदालतले ५ दिनको ट्रान्सिट रिमान्ड स्वीकृत गरेको छ।
अदालतको आदेशपछि पञ्जाब पुलिस अभियुक्तलाई लिएर पञ्जाबतर्फ प्रस्थान गरेको छ। घटनाको थप अनुसन्धान पञ्जाब पुलिसले गरिरहेको छ।





