खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत हाउजिङ फर अल योजनाका लाभार्थीहरूले बिहीबार योजनाअन्तर्गतको रकम भुक्तानीमा देखिएको कथित अनियमितताको विषयलाई लिएर खरसाङमा र्याली निकाल्दै महकुमा शासकलाई ज्ञापन पत्र बुझाएका छन्। रामकृष्ण शर्माको अगुवाइमा निकालिएको उक्त र्याली खरसाङ रेलवे स्टेशन परिसरबाट सुरु भई खरसाङ महकुमा अधिकारीको कार्यालयसम्म पुगेको थियो। र्यालीमा हाउजिङ फर अल योजनाका लाभार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। लाभार्थीहरूले योजनाअन्तर्गत आफूहरूले पाउनुपर्ने रकम शीघ्र उपलब्ध गराउनुपर्ने तथा रकम वितरणमा देखिएका समस्याबारे आवश्यक छानबिन गरी समाधान गर्नुपर्ने माग राखेका छन्। र्यालीपछि प्रतिनिधिमण्डलले खरसाङका महकुमा अधिकारीलाई भेट गरी हाउजिङ फर अल योजनासम्बन्धी विभिन्न विषय समेटिएको ज्ञापन पत्र बुझाएको थियो। ज्ञापन पत्र बुझाएपछि उपस्थित लाभार्थीहरूलाई जानकारी गराउँदै आरके शर्माले महकुमा अधिकारीसँग भएको छलफलका विषयमा जानकारी दिए।

उनका अनुसार, महकुमा अधिकारीले हालै मात्र आफ्नो कार्यभार सम्हालेकाले हाउजिङ फर अल योजनासम्बन्धी सम्पूर्ण विषयमा विस्तृत जानकारी प्राप्त गर्न बाँकी रहेको बताएका थिए। तथापि, योजनाअन्तर्गत लाभार्थीहरूले पाउनुपर्ने रकम उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिने उनले बताएका छन्। यसका साथै योजनाअन्तर्गत निर्माण सम्पन्न भएका घरहरू तथा अझै अधुरा रहेका घरहरूको छुट्टाछुट्टै विवरण तथा रिपोर्ट तयार गरी सम्बन्धित निकाय सुडालाई पठाइने र त्यसपछि नगरपालिकाले उठाएको २५ हजार रुपैयाँसम्बन्धी विषयमा आवश्यक प्रक्रिया अघि बढाइने जानकारी महकुमा अधिकारीले दिएको आर. के. शर्माले बताए। यसैबीच, विगतमा बोर्ड अफ एडमिनिस्ट्रेटरले हाउजिङ फर अल योजनासम्बन्धी के-कस्ता कार्यहरू गरेको थियो भन्ने विषयमा तत्काल कुनै टिप्पणी नगरे पनि हाल लाभार्थीहरूबाट प्राप्त रिपोर्ट तथा कागजातहरूको अध्ययन गरी त्यसका आधारमा सम्बन्धित प्रक्रिया अघि बढाइने महकुमा अधिकारीले बताएको पनि आर. के. शर्माले जानकारी गराए। आर. के. शर्माले उपस्थित लाभार्थीहरूलाई महकुमा अधिकारीसमक्ष राखिएका विषयहरूबारे जानकारी गराउँदै सम्बन्धित निकायबाट आवश्यक प्रक्रिया अघि बढ्ने आशा व्यक्त गरे। साथै, हाउजिङ फर अल योजनाका सबै लाभार्थीहरूको समस्या समाधानका लागि एकजुट भएर पहल जारी राखिने पनि उनले बताए।





